भारतकाे एकतर्फी बाँधले तराईमा डुबान

226
  •  
  •  
  •  

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भारतले एकतर्फी रुपमा निर्माण गरेको बाँधका कारण तराई क्षेत्र डुबानमा परेको निष्कर्ष निकालेको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिन सिफारिस गरिएको छ ।

समितिले देशका विभिन्न गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा भारतद्धारा निर्मित बाँधका कारण तराईमा डुबान भएको निष्कर्ष निकालेको हो ।

उक्त प्रतिवेदनमा नदीनाला र खोलाको ढुंगा, गिटी र बालुवाको वैज्ञानिक रुपमा उत्खनन् नभएका कारण पनि बाढी र डुबानको समस्या बढेको उल्लेख छ ।

प्रतिवेदनमा अझै पनि बाढी, पहिरो र डुबानको समस्या रहेको उल्लेख गर्दै त्यसका लागि उद्धार टोलीको उचित व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने भनिएको छ ।

संसदीय समितिले प्रभावित जिल्लाहरुमा पुगेर तयार पारेको उक्त स्थलगत अध्ययन प्रतिवेदनमा तराईको डुबान समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न पनि सरकारलाई सचेत गराउनुपर्ने निष्कर्ष निकालिएको छ ।

प्रतिवेदन अध्ययन गरी समितिका सदस्यहरुले थप सुझाव दिएपछि सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने समितिले जनाएको छ ।

समितिका सदस्यहरुले प्रतिवेदनमाथि मंगलबारसम्म सुझाव दिने र त्यसैको आधारमा सो प्रतिवेदनलाई पूर्णता दिई सरकारलाई आवश्यक निर्देशन दिने समितिले जनाएको छ ।


  •  
  •  
  •