काठमाडौ, १८ भदौ(एजेन्सी) : सिरियाबाट भागेर युरोपका मुलुकहरूमा विस्थापित हुन लागेका मानिसहरू सवार एक डुङ्गा डुब्दा एक ३ वर्षीय बालकको शव समुन्द्री छालले किनारमा ल्याइदियो । तीन वर्षका एलेन कुर्दी नामकी ती बालकको मृत् शरिरको तस्विरले विश्वलाई नै शोकमा डुबाएको छ । एलेनको शव टर्कीको बोडरम बीचमा भेटिएको थियो ।
यस तस्विरले मात्र पनि सिरियाको भयानक अवस्थाको बयान गर्न काफी छ । कस्तो अवस्थामा बाँचिरहेका छन् सिरियाली जनता भन्ने तथ्य यही तस्विरले उजागर गरिदिएको छ । आईएसको आतंकका कारण सिरियाबाट विस्थापित हुने क्रममा यही वर्ष मात्र करिब २५ सय मानिस समुन्द्रको काखमा आफ्नो जीवनलीला समाप्त गर्न पुगेका छन् ।
एलेनको जुन घटनामा मृत्यु भयो, सो घटनामा उनका ५ वर्षीय दाजु ग्यालिप र आमाको पनि मृत्यु भयो भने अन्य ९ जनाले पनि ज्यान गुमाए ।
तर, यो तस्विरले विस्थापितहरूको त्यो घाऊलाई बाहिर ल्याइदिएको छ की जसमा हजारौको संख्यामा देशबाट बाहिर जाने प्रयासमा कहिले रेल्वे स्टेशन, कहिले ट्रक त कहिले समुन्द्रमा आफ्नो इहलीला समाप्त गर्ने गरेका छन् ।
सीरियामा विस्थापितको संख्या ३० लाख नजिकै पुगेको छ, जुन विश्वमा भएको अहिलेसम्मकै सबैभन्दा विस्थापन हो । हरेक महिना करिब १ लाखको दरले सीरियाका जनताहरू विस्थापित भइरहेका छन् ।
एलेनका पिताले अब परिवार नै नरहेपछि आफूलाई कुनै डर नभएको बताएका छन् । उनी उक्त दुर्घटनामा बाँचेका थिए । उनले आफ्नो परिवारलाई बचाउने प्रयास पनि गरेका थिए तर, सफल हुन सकेनन् ।