१९ असार, काठमाडौँ । निजी लगानीमा सञ्चालित कलेज तथा उच्च माविहरुले नयाँ भर्ना हुने विद्यार्थी संख्याका आधारमा ड्रेस सिलाउने टेलरसँग कमिसन लिने क्रमलाई यो वर्ष पनि निरन्तरता दिएका छन् । निश्चित शुल्कमा अनुबन्ध गरिएको टेलमै ड्रेस सिलाउन विद्यार्थी सधैँजसो बाध्य छन् ।
१ सय विद्यार्थी क्षमता भएका कलेजलाई टेलरहरुले स्तर अनुसार ५० हजारदेखि १ लाख रुपैयाँ सम्म कमिसन बुझाउनु पर्छ ।
ठूला कलेजले १ हजारसम्म नयाँ विद्यार्थी भर्नाको क्षमता राख्छन् । त्यस्ता कलेजले १० लाखसम्म कमिसन लिदएर टेलर अनुबन्ध गर्ने गरेका छन् । उच्चमाध्यामिक शिक्षा परिषदका अनुसार राजधानीका कक्षा ११ मा मात्रै ३० हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
कालीमाटीमा ६ वर्षलेखि सिलाइकटाइ व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी श्याम शर्माले नयाँ भर्ना हुने विद्यार्थीका आधारमा ड्रेस सिलाउने काम पाउन कलेजहरुले अग्रिम कमिसन दिइँदै आएको वताए । ‘कलेजलाई अग्रिम बुकिङ नगरे ड्रेस सिलाउन नपाइने भएकाले रकम पनि अग्रिम नै बुझाउनुपर्छ,’उनले भने,’म कलंकीको एउटा कलेजमा अनुबन्धित भएपनि अन्तिममा कमिसन बढाउन नसक्दा सम्झौता भंग भयो ।’
विशेषगरी नयाँ खुलेका कलेजले विज्ञापन खर्च ड्रेसकै कमिसनबाट उठाउने गरेको उनले सुनाए । शर्माका अनुसार अनुबन्धबिनै ड्रेस सिलाउन पाए मूल्य १ हजारदेखि १५ सय रुपैयाँसम्म सस्तो हुन्छ । कतिपय कलेजले त कक्षा ११ र १२ मा फरक फपरक ड्रेससमेत बनाएको उनले सुनाए । भर्नासँगै कलेजहरुले आआफ्नै ड्रेस व्यवस्था गर्ने गरेका छन् ।
कारोबार दैनिक