आइतबार मस्यौदा बुझाईएन, किन हुँदैछ ढिलाई ?

139
  •  
  •  
  •  

काठमाडौं, १३ असार (ओएनएस) :  चार प्रमुख दलबीच संविधानसभाको मस्यौदा समितिबाट आइतबार नै सहमति जुटाई सभाध्यक्ष सुवास नेम्बाङलाई प्रारम्भिक मस्यौदा बुझाउने तयारी असफल भएको छ ।

सोमबार बोलाइएको संविधानसभा बैठकअघि मस्यौदा बुझाउने तयारी भएपनि दलहरुले सोमबार मात्र मस्यौदा बुझाउने भएका छन्  सभाध्यक्ष नेम्बाङले ‌ओएनएसलाई दिएको जानकारी अनुसार आज संविधानको मस्यौदा प्राप्त नहुने भएको हो । यसअघि नेम्बाङले आइतबार साँझसम्म संविधानको मस्यौदा हात पर्ने विश्वास व्यक्त गरेका थिए ।

यसअघि दलहरुबीच विहान बालुवाटारमा बसेको बैठकले  संविधानसभामा नयाँ संविधानको पहिलो मस्यौदासहितको प्रतिवेदन बुझाउने समझदारी गरेको थियो ।

दलहरु बीच नागरिकताका सवालमा आमा वा बाबुका नामबाट नागरिकता दिन सकिने, धर्म निरपेक्षतालाई कायमै राखी त्यसलाई धार्मिक स्वतन्त्रताका रुपमा व्याख्या गर्ने, राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशतको व्यवस्था अनिवार्य गर्ने, संविधान जारी भएपछि स्थानीय निर्वाचन शीघ्र गर्ने विषयमा सहमति  थियो ।

संविधानको मस्यौदा तयार पार्न संविधानसभाले दिएको १५ दिनको समय आज सकिंदैछ । कार्यदलले तयार पारेको प्रारम्भिक मस्यौदामा २९६ धारा, ३७ भाग र सात अनुसूची छन् ।


  •  
  •  
  •