नेपालका अहिलेका नेताहरुबाट महाथिरको जस्तो नेतृत्व असम्भव

139
  •  
  •  
  •  

राजनीतिक स्थिरता आउनका लागि हाम्रो गरीबीले, बेरोजगारीले, सानासाना पार्टीहरुले, हाम्रा बाह्य र आन्तरिक कारणले जुन प्रभाव पार्नुपर्ने त्यो कुनै पनि प्रभाव पारेको छैन भनेपछि यस्तो बेलामा राजनीतिक स्थिरता कहिले आउँछ भनेर कुरेर बस्न मिल्दैन । राजनीतिक स्थिरता अबको ३० वर्ष पछि आउँला रे अनि के आर्थिक विकासको लागि कुरेर बस्ने ?
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदले त्यहाँको विकासमा गरेको ‘जादू’लाई लिएर उनको नेपाल भ्रमणका बेला निकै चर्चा भएको छ । कुनै बेला नेपाल जस्तै गरीब मलेसिया उनको सफल नेतृत्वले आज निकै अगाडि बढेको छ । मलेसियाको विकासबाट नेपालले धेरै सिक्न सक्ने महाथिर आफैले पनि काठमाडौंको एक कार्यक्रममा बताए । वास्तवमा नेपालले मलेसियाका सिको गर्न सक्छ ? यसै विषयमा अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्‍यालसँग ओएनएस न्यूजका लागि राजु केसीले गरेको कुराकानी :
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरले काठमाडौंमा जुन आफ्नो अनुभव बाँडे त्यो हाम्रा लागि कत्तिको उपयोगी छ ?
मलेसियामा जे जति उपलब्धि हासिल भएको छ । त्यसलाई हामीले मुल्याङ्कन गर्ने हो भने महाथिर मोहमदले भनेको कुरा दमदार छ । मलेसिया र नेपालको स्थितिमा केही समानता छ । मलेसिया पनि नेपाल जस्तै एक बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । तर मलेसियाले त्यो दुवै स्थितिमा एकतामा बाँध्ने काम र विकासको काम सँगसँगै लगेको देखिन्छ ।
गृहयुद्ध त्यहाँ पनि भएको थियो । तर सरकारले गृहयुद्ध जुन ठाउँको असन्तुष्टिबाट जन्मिएको थियो त्यहाँ विशेष किसिमको कार्यक्रम त्यहाँ लगेको देखिन्छ । यो कामले आर्थिक फाइदाहरु त्यहाँका जनताले पाए । महाथिरले सम्पन्न भएका व्यक्तिलाई तल झार्ने भन्दा पनि तलका जनतालाई माथि लैजानुपर्छ भन्ने गरेका छन् । यो कुरालाई नेपालले लिनुपर्छ ।
प्राकृतिक सम्पदाकै कुरा गर्ने हो भने मलेसियामा केही रबरका रुख र खनिज वस्तुहरु केहीमात्रमा छन् । नेपालमा भएको प्राकृतिक सम्पदा मलेसियाको तुलनामा कम होइन । तर मलेसियाले आफ्नो नेचुरल रिर्सोसेसहरुलाई आर्थिक विकासको सम्भावना र अवसरको रुपमा लियो । तर हाम्रो सन्दर्भमा यो ठिक उल्टो भयो । यहाँ त भगवानले दिएको सम्पदा दिन दिनै नास हुँदा पनि हामी टुलुटलु हेरिराखेका छौ ।
नेपालमा स्रोत साधन भएर पनि आर्थिक असमानता चुलिएर गएको छ । मलेसियामा थोरै स्रोत साधनका बाबजुत आर्थिक असमानता घटाउँदै लगिएको छ । उनीहरुले हामीलाई सिकाएको पाठ भनेको विविधतामा शान्तिपूर्ण ढंगले कसरी मुलुकलाई जोड्न सकिन्छ ?, र आर्थिक विकासलाई सँगसँगै कसरी लैजान सकिन्छ भन्ने हो ।
मलेसिया सरकारले आफ्नो लगानीमा आफ्ना नागरिकलाई उच्च शिक्षा हासिल गर्न विदेशमा पठायो । भने त्यससँगै विदेशबाट पढेर जाने जनशक्तिलाई रोजगारीको अवसर सृजना गर्न सँगसँगै त्यसै अनुसारका भौतिक पूर्वाधारको पनि विकास गर्यो । जसका कारण मलेसियाको उपादकत्वमा पनि वृद्धि भयो । तर नेपालमा अझै पनि विदेशमा पढ्न गएका नेपाली फर्किएर काम गर्ने वातावरण बनेको छैन ।
आर्थिक विकासमा बृहत अर्थतन्त्रको व्यवस्थापनलाई महत्वपूर्ण मानिन्छ, यसमा नेपाल र मलेसियालाई तुलना गर्दा हामी कहाँ निर चुकेका छौ ?
महाथिर प्रधानमन्त्री हुनुभन्दा अगाडि सन् १९८० अघि मलेसियाको कुल ग्राहस्थ उत्पादन १२ अर्ब डलरको थियो । तर २००२ मै मलेसियामा कुल ग्राहस्थ उत्पादन ३ हजार ५ सय ४० अर्ब डलर पुग्न गयो । यति छोटो समयमा १२ अर्बबाट ३,५४० अर्ब डलर पुग्नुमा उनीहरुले भनेको कुरामा केही शक्ति त पक्कै छ नी ।
१९९७ मा विश्वव्यापी रुपमा त्यत्रो वित्तिय संकट आयो । त्यतिबेला नेपाल र अरु विभिन्न गरीब मुलुकले अन्र्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकको सर्त माने । मलेसिया आफ्नै आर्थिक नीति अनुसार अघि बढ्यो । त्यसको प्रतिफल के भयो भने नेपाल जस्ता मुलुक जसले आइएमएफ र विश्वबैंकको सर्त मानेर सस्तो ब्याजदर भन्दै ऋण लिएका थिए उनीहरु पूँजी निर्माण गर्न नसकेर ऋणमा परे ।
तर मलेसियाले सर्त नमानेर आफ्नै नीति अनुसार अघि बढ्यो । आफै उत्पादन गर्दै आफ्नै मुलुकमा खपत गर्यो । हाम्रो बृहत अर्थतन्त्र व्यवस्थापन अर्काको हातमा पर्यो । मलेसियाले आफैले गर्यो । त्यसको फलस्वरुप के भयो त भन्दा उनीहरुको मुद्रास्फिति नियन्त्रण भयो । तर हाम्रो अर्थतन्त्र अझै नियन्त्रणमा आउन सकेन ।
जस्तो नेपालको केही प्रतिशत भएपनि आर्थिक वृद्धि त हुन्छ तर रोजगारी सृजना गर्न सक्दैन । राष्ट्र बैंकले मौद्रिक नीति त ल्याउँछ तर हाम्रो मुद्रास्फितिलाई नियन्त्रण गर्नसक्दैन । हामी यस्तो अनौठो विसंगतिमा परेका छौ । कुनै पनि देशको अर्थतन्त्र बिग्रने कारणहरु एउटा बाह्य हुन्छ अर्को आन्तरिक हुन्छ । हामीले आफू बिग्रनुमा बाह्य कारणलाई प्रधान मान्न सक्छौ तर मलेसियाले बाह्य कारणबाट आफूलाई जोगाउन सक्षम भयो । आफूले सर्त मानेर लिएको ऋणको सही प्रयोग गर्न नसकेर नेपाल जस्ता धेरै मुलुक डुबेका छन् । तर मलेसियाले लिएन राम्रो गर्यो ।
मलेसियाले रोजगारीको विकास वा सृजना गर्न पनि निकै नाटकिय परिवर्तन गरेको छ, तर नेपालमा बेरोजगारीको समस्या झन् झन् बढ्दो छ, के हामीले लगानीको लागि क्षेत्र राम्रो छान्न नसकेको हो ?
मलेसियाले यस्तो क्षेत्रमा लगानी गर्यो जहाँबाट प्रशस्त मात्रमा रोजगारी सृजना हुन्छ । तपाईले भनेको ठिकै हो उनीहरुको इम्प्लोइमेण्ट फिगरलाई हेर्यो भने त डरै लाग्छ । स्वतन्त्रता पछि दुई दशकको समयमा उनीहरुको दुई सय ६० प्रतिशत भन्दा बढी रोजगारी सृजना भएको देखिन्छ ।  तर हामी कहाँ अझै पनि लगानी कुन क्षेत्रमा गर्ने वा प्राथमिकता कुनलाई दिने भन्ने नै निक्र्यौल भएको छैन । अनि यस्तो स्थितिमा कसरी उपलब्धि आउँछ ?
मलेसिया परिवर्तनमा प्रत्यक्ष वैदेशिक लगानी महत्वपूर्ण छ, नेपालमा पनि यसको खुब चर्चा हुन्छ तर लगानी आउँदैन किन ?
यो त यहाँको ऐन र शासकिय प्रणाली (गर्भरनेस सिस्टम) राम्रो नभएर हो । हामी ‘वन विन्डो पोलिसी’ भन्छौ तर वास्तविकतामा ‘फोर, फाइभ विन्डो पोलिसी’ जस्तो छ । कुनै पनि निर्णय गर्नलाई त्यो निर्णयको फाइल चार, पाँच वटा मन्त्रालयमा पुग्नुपर्छ । जब निर्णय हुन्छ त्यो बेलासम्म ढिलो भइसकेको हुन्छ । समय ढिलो हुँदा लागत बढेको हुन्छ । हामी कहाँ बाह्य लगानीलाई आकर्षण गर्न बनाइएको ऐनमा दिइएका सुविधाहरु सबै आयकर ऐनले फिर्ता लिएको छ । यस्ता दुई अर्थ लाग्ने ऐन नमिलाएसम्म सोचे जस्तो वैदेशिक लगानी आउने छैन ।
मलेसियामा कसरी लगानीलाई ‘वन विन्डो पोलिसी’मा पुर्याउन सकिन्छ भन्ने मात्र सोचे । पछि अझै सजिलो पार्न आयकर नै छुट दिए । त्यसपछि लगानी यसरी बढ्यो कि त्यो एक उदाहरण बन्न पुग्यो । तर नेपालमा यस्तो हुन सकेको छैन । जस्तो हामीले हाइड्रोपावर भनेर चिच्याइरहेका छौ तर यसमा पनि वैदेशिक लगानी आउन बाधा खडा खरिएको छ ।
२००६ मा अध्यादेशमार्फत आएको नयाँ ऐनले तीन मेघावाट र त्यसभन्दा माथि पावर जेनेरेट गर्नेहरुले भ्याट तिर्नुपर्छ भनेर अनिवार्य बनाइदियो । त्यसले गर्दा लागत बढाइदियो । यसबाट सानो–सानो लगानीलाई निरुत्साहित पार्ने काम भयो । मलेसियामा यस्तो छैन ।
राजनीतिक अस्थिरताले देशको विकासलाई कत्तिको रोकेको छ ? 
राजनीतिक अस्थिरताले वास्तवमा रोकेको छ । महाथिरको भनाईमा साना–साना पार्टीहरु भए भने मुलुकमा स्थिरता आउन सक्दैन भन्ने छ । तर सबै मुलुकहरु मलेसिया जस्तो भाग्यमानी हुँदैनन् । अमेरिका, मलेसिया, युरोपका केही देशमा दुई वटामात्र पार्टी होलान । तर सबै मुलुकमा यस्तै हुन्छ भन्ने हुँदैन ।
मलाई के लाग्छ भने हाम्रो मुलुकमा राजनीतिक संरचना र आर्थिक संरचनालाई सँगसँगै लैजानुपर्छ । राजनीतिक स्थिरता आउनका लागि हाम्रो गरीबीले, बेरोजगारीले, सानासाना पार्टीहरुले, हाम्रा बाह्य र आन्तरिक कारणले जुन प्रभाव पार्नुपर्ने त्यो कुनै पनि प्रभाव पारेको छैन भनेपछि यस्तो बेलामा राजनीतिक स्थिरता कहिले आउँछ भनेर कुरेर बस्न मिल्दैन । राजनीतिक स्थिरता अबको ३० वर्ष पछि आउँला रे अनि के आर्थिक विकासको लागि कुरेर बस्ने ? यो हुनसक्दैन ।
नेपालको विकासका लागि हामीले प्राथमिकताको क्षेत्र छुट्याउन नसकेको हो की ?
सन्तुलित विकासको अवधारणालाई हामीले लागू गर्नुपर्छ । एउटै क्षेत्रमा हामीले भएभरको रकम लगानी गर्यो भने जोखिम बढी हुन्छ । मेरो भनाई के छ भने नेपालको सन्दर्भमा प्राथमिताका ३ वटा क्षेत्रमात्र हामीले निर्धारण गर्नुपर्छ । जस्तो जलविद्युत, कृषि, पर्यटन वा औद्यौगिक क्षेत्र । हामी कहाँ यस्ता क्षेत्रमा धेरै सम्भावना छन् ।
जस्तो कृषिलाई व्यवसायिक बनाउन सरकारले बिमाको व्यवस्था गर्ने, भूमिको विकासका लागि लगानी बढाउने लगायतका काम हामीले गर्नुपर्छ । पर्यटनको कुरा गर्दा हामीले खाली पर्यटकको बसाई लम्बाउने मात्र सोच्छौ । तर सरसफाई र अन्य पूर्वाधार निर्माण गरेर धेरै खर्च गर्न सक्ने पर्यटक नेपाललाई चाहिएको छ । पानी पनि निर्धक सँग पिउन नपाइने भएपछि हामी कहाँ कस्तो पर्यटक आउँछ ? यस्ता विषयमा ध्यान दिन जरुरी छ ।
अन्त्यमा, अहिले जो नेपाली राजनीतिमा प्रभावशाली छन्, ती नेताहरुबाट मलेसियामा महाथिरले दिएको जस्तो जादुमयी नेतृत्वको आशा हामी गर्न सक्छौ ?
अहिले भएकाबाट आश गर्न सकिदैन । अहिलेकै माहोलमा दोस्रो पुस्ता पनि विकास भयो भने अब आउनेको गति पनि त्यही हुन्छ । अहिलेको वातावरण भन्नाले राजनीतिक अन्यौलता, आर्थिक पछौटेपन जस्ता धेरै कुरामा सुधार ल्याएर अहिलेका नेताले त्याग गरेर नेतृत्व हस्तान्रण गरे भने नयाँ पुस्ताबाट स्वभाविक रुपमा केही आश गर्न सकिएला ।
तर अहिलेकै नेतृत्वबाट यो मुलुकको कायापलट हुन्छ भन्ने त म सोँच्दै सोँच्दिनँ । अहिलेको नेतृत्व त असफल भइसकेको नेतृत्व हो ।

  •  
  •  
  •