डा सन्दुक रुइतलार्इ भारतको प्रतिष्ठित पद्मश्री सम्मान प्रदान

322
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : डा सन्दुक रुइतलार्इ भारतले प्रतिष्ठित पद्मश्री सम्मान प्रदान गरेकाे छ। नेपालका चर्चित आँखारोग विशेषज्ञ डा रुइतलार्इ भारतीय राष्ट्रपति राम नाथ कोविदले उनलार्इ भारतकै प्रतिष्ठित नागरिक सम्मान पद्मश्री प्रदान गरेका हुन्।

सोमबार राष्ट्रपति निवासमा भएको विशेष समारोहमा यो वर्ष पद्मश्री पाउने विशिष्ट व्यक्तिहरुलार्इ सम्मान गरिएको थियो। सम्मान घोषणा भने भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गत माघमा नै गरिएको थियाे।

नेपाली आँखा चिकित्सक डा रुइतलाई भारत सरकारले सस्तोमा मोतियाबिन्दूको शल्यक्रिया गर्ने खोज र सस्तो दरमै मोतियाबिन्दुको उपचारपछि प्रयोग हुने लेन्स निर्माणका लागि उनाई पद्मश्री दिएको बताएको छ।

डा रुइतले सन् २००६ मा म्याग्सेसे पुरस्कार पाएका छन्। तिलगंगा आँखा केन्द्र, काठमाडैंका निर्देशक रुइत ताप्लेजुङको ओलाङचुङगोलामा जन्मे हुर्केका हुन्। दार्जिलिङको मिसनरी स्कूल सेन्ट रोबट्र्समा उनले आफ्नो अध्ययन सुरु गरेका थिए। त्यसपछि एसएलसीसम्म काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा अध्ययन गरे।

त्रिचन्द्र क्याम्पसमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा तीन वर्ष बिताए। फेरि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा विशेषज्ञता हासिल गरे।

उनको खोजले मोतियाबिन्दूको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको र ३० भन्दा बढी देशहरूमा लेन्स निर्यात गर्ने गरेको उल्लेख छ।


  •  
  •  
  •