निषेधाज्ञा खुलेसँगै कोभिड–१९ बाट यसरी सुरक्षित रहौँ ?, डा. पाण्डेको सुझाव

110
  •  
  •  
  •  

काठमाडौं । सरकारले काठमाडौं उपत्याकामा बिहीबारदेखि लागु हुने गरी निषेधाज्ञा खुकुलो बनाएको छ । यो निर्णय आम जनताको पक्षमा रहेकाे जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् ।

डा. रवीन्द्र पाण्डे

उनी भन्छन्, ‘हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन्,आम जनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो । सरकारले बल हाम्रो हातमा दिएको छ ।’

यस्ता छन् कोभिड–१९ बाट कसरी जोगिने डा. पाण्डेको सुझाव

  •  बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने । सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने । काम गर्न बाहिर जाने व्यक्तिसँग दुरी कायम गर्ने । कुरा गर्दा मास्क लगाउने ।

  • मर्निङ वाक वा इभिनिङ वाक घरमै गर्ने ।

  • खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।

  • घरबाहिर निस्कँदा अनिवार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने । भीडभाडमा नजाने, भीडभाड नगर्ने ।

  • सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पन्जा लगाउने । स्यानिटाइजरले हात सफा गरिरहने । बिशेष सतर्क हुने ।

  •  हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यवस्थापन गर्ने । मास्क नलगाएका ग्राहकलाई मास्क दिने । सबैको लागि ठूलो स्यानिटाइजर राख्ने । झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने ।

  •  सकभर हरेक पसलमा सरल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ।

  •  ग्राहक ब्यवस्थापन कुशल ढंगले गर्ने । भीडभाड नगराउने ।

  •  पसल र हरेक सामान संक्रमणरहित बनाउने ।

  •  चियापसल, कफीसप तथा पसलमा साथीहरुसँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ।

  •  कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन । हरेक व्यक्तिसँग सुरक्षित ब्यवहार गर्ने ।

  •  सामान किन्दा धेरै छान्ने काम नगर्ने । किनमेलको लिस्ट घरमै बनाएर जाने । पसलहरुमा एकदम छोटो समय बिताउने । जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ ।

  •  सकभर तरकारी बजारबाट तरकारी नकिन्ने । घर नजिकको पसलबाट किन्ने । बसेर छान्ने, छाम्ने काम नगर्ने ।

  •  डिपार्टमेन्टल स्टोर तथा सपिङ मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ, आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने । लामो समय नबिताउने ।

  •  भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुण्य कमाउने । कमाउने कुरा पैसासँग मात्र जोडिएको हुँदैन । पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन |

  • बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत,विधुत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने । क्यासलेस लेनदेनलाई प्रेरित गर्ने । टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने । फाइललाई डिजिटल बनाउने ।

  •  रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने । बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ ।

  •  सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने ।

  •  आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ । यो सुत्र सबैले अपनाउने ।

  •  कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसँग घुलमिल हुने ।

  •  ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो ।

  •  हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ । संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन । हामी पनि सुरक्षित हुन्छौं ।

जनस्वास्थ्य विज्ञ डा. पाण्डेको फेसबुकबाट साभार


  •  
  •  
  •