कोरोनाले छिमेकी र आफन्त चिन्ने मौका पायौँ : डा.ज्ञवाली

306
  •  
  •  
  •  

मलाई अलि अलि टाउको दुखे जस्तो भयो। त्यसको भोलीपल्ट बिहान रुघा लागेको जस्तो भएको थियो। घाँटी पनि पनि खसखस गर्यो।

दिउँसो ज्वरो आउन थाल्यो। ज्वरो अघि पछि रुघा लागेको समयमा आउने भन्दा कडा खालको थियो। शरीर दुख्ने, कमजोरी भए जस्तो लक्षण देखियो। कोरोनाको जस्तो लक्षण लागेपछि असोज ११ गते गएर पीसीआर परीक्षण गराए।

डा.प्रकाश ज्ञवाली

भोलिपल्छ रिर्पोट पोजिटिभ आयो। म बाहेक घरमा श्रीमति, छोरा छोरी सबैलाई लक्षण देखिएकोले असोज१२ गते उनीहरुको पनि पीसीआर परीक्षण गरियो। रिर्पोट सबैको पोजिटिभ आयो।

जति धेरै कुरा कोरोना भाइरसको बारेमा जानेकोबुझेको भएपछि पहिलोपटक आफुलाई संक्रमण देखिएको थाहा पाउँदा निकै डर लाग्ने रहेछ।
पोजिटिभ आएपछि सामान्य लक्षण देखिएको र सबै परिवारलाई संक्रमण भएपछि छिमेकी र आफन्तलाई जानकारी गराएर घरमै आइसोलेसनमा बस्यौँ।

आयुर्वेदको चिकित्सक भएकाले पहिले देखि नै जडिबुटीहरु मात्रा मिलाएर त खाइरहेका थियौँ नै। संक्रमण भए पछि पनि गुडूची(गुर्जो) १ चम्चा २ कप पानीमा पकाएर १ कप बाँकी रहेपछि ४/५ पत्ता तुलसीको पात राखी छानेर चिया जस्तै गरी, च्यवनप्रास १/१ चम्चा बिहान/ बेलुका, अश्वगन्धा चुर्ण १/१ चम्चा बिहान बेलुका, यस्टीमधु चुर्ण १/१ चम्चा र त्रिकटु१/१ ग्रामका दरले बिहान बेलुका मनतातो पानीसँग खाने गरियो जसले गर्दा ३ दिनमै सबै लक्षण हराएर गयो।

ज्वरो आएको बेला सिटामोल खाइयो। भिटामिन सि, डि र भिटामिन बी कम्पेक्स पनि खायौं।
३ दिनसम्म लक्षण देखियो। त्यसपछि भने सबै लक्षण हराएर ठीक हुँदै गयौँ। यस्तो बेला सबै पोजिटिभ भएकोले कसलाई कतिबेला समस्या बढ्ने हो भन्ने चिन्ता हुने रहेछ।

घरबाट बाहिर निस्कन नमिल्ने भएकाले आवश्यक सामानका लागि पसलमा फोन गरेर गेट बाहिर सम्म ल्याइदिन भन्यौँ। मेरो श्रीमतिको दिदी पनि नजिकै बस्नुहुन्छ। उहाँले नै आवश्यक परेका सरसामानहरु ल्याइदिनुभयो। घरमा बसेको बेला धेरै साथीभाइसँग फोन र  म्यासेन्जरमा कुरा भयो।

कतिजनाले घरमा एक जनाको पोजिटिभ आएपछि अरुलाई लक्षण भएपनि जाँच नगरी घरमै आइसोलेसनमा बसेको पनि थाहा पाए।
जटिबुटीबारे जानकारी लिन, मलाई यस्तो समस्या भयो, कुन जडिबुटी कसरी खाउँ भनेर दैनिक १२/१५ जना नयाँ व्यक्तिले फोन गर्नुहन्थ्यो।

संक्रमण देखिए पछिको अवस्था अलि फरक हुने रहेछ। यसले मानिसको मनमा कसरी डर जमाएर बसेको छ भन्ने अनुभव पनि भयो। छिमेकीहरु हामी छतमा गयो भने पनि छतबाट सर्ला झैँ डराउनुभयो।

त्यसैले हामीमध्ये कोही छतमा जानुपरेमा पनि मास्क लगाएर जाने गथ्यौं। कसैले फोनमा पनि सर्छ कि झैँ गरेर कुरा गरेको अनुभव हुँदा भने डरले निकै जरा गाडेको छ भन्ने लाग्यो। यो हाम्रो लागि छिमेकी र आफन्त चिन्ने मौका पनि भयो।

कति आफन्त त अफ्ट्यारो पर्यो भने सहयोग गर्न पर्न सक्छ भनेर थाहा नपाए जस्तो पनि गरे। कतिले औपचारिकता मात्र निभाए। यसबाट हामी विचलित भएनौ। यो सबै अज्ञानताको परिणाम हो। हामीले पर्याप्त जनचेतना जगाउन सकेका रहेनछौ।

हामीले घरमा चना उमारेर झोल बनाएर प्रसस्त खायौं। त्यस्तै ज्वानोको झोल, कुरिलोको झोल पनि खुब खायौं। ५ दिन पछि बाट मासुको झोल बनाएर खान थाल्यौं। शरीरमा पानीको मात्रा कमी हुन दिनु हुँदैन। पानीको मात्रा पुगे फोक्सो लाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार छ। त्यसैले कहिले काँही जीवन जल बनाएर पनि खायौं। अक्सीमीटरको सहयोगले अक्सिजनको मात्रा नापी राख्यौं।

९४ भन्दा बढी मा मेन्टेन गर्नुपर्ने हुनाले अनुलोम विलोम पनि गर्ने गर्यौ। घाम मा बस्ने, एक अर्काको अवस्था जानकारी लिने पनि गर्यौ।यो रोगले हामीलाई दुःख नदिए पनि यो कसै कसैलाई कडा रुपमा पनि आउन सक्छ।

कोरोना संक्रमण जहिले जो कोहिलाई पनि देखिन सक्छ। त्यसैले सरकारले भनेका सबै मापदण्ड पालना गरौं। कसैलाई पोजिटिभ देखिएपछि घरमा सबै मापदण्ड पालना गरेर कम्तिमा १४ दिन आइसोलेसनमा बसौं। नियमित रुपमा जडीबुटी सेवन गर्ने, भीडभाडमा नजाने र वुद्धवद्धा र दीर्घ रोगी बचाउने काम गरौं।

(डा.ज्ञवाली नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष हुन्।) 

 

 


  •  
  •  
  •