दशैँ मान्न अर्को ठाउँ जाँदा संक्रमण फैलिन सक्छः डा.खगेश्वर गेलाल

94
  •  
  •  
  •  

नेपालमा दुई वटा कोरोना संक्रमित हुँदा लकडाउन सुरु गरेका थियौँ अहिले कोरोना संक्रमितको संख्या बढेर गएको छ । त्यसमध्ये आधा भन्दा बढी उपत्यकामा छ ।
लकडाउन पछि संक्रमण भइरहेका ठाउँबाट आएका मानिसहरु प्रवेश गर्दा राजधानीमा संक्रमितको संख्या ह्वात्तै बढेको हो । मानिसहरु काम, आयआर्जन र पढाइको लागि राजधानी आउँदा जोखिम भएका ठाउँबाट आएको भनिएका मानिसहरुलाई १४ दिनसम्म अलग्याउन सकेका हुन्थ्यौँ भने संक्रमण सर्ने दरलाई घटाउन सक्थ्यौँ । त्यति बेलै मानिसहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्न सकेको भए संक्रमण घटाउन सकिन्थ्यो ।


हामीले जति भनेका थियौँ त्यति कडाइका साथ काम गर्न सकेनौँ । सार्वजनिक यातायातका साधनमा समेत अझै मास्क नलगाई मानिसहरु हिँडिरहेका छन् । जनताले पनि सरकारले भनेका कुरा राम्रोसँग मानिदिनुपर्यो । विदेशतिर मास्क नलगाई गायो भने पेनाल्टी तोकेर त्यसलाई कार्यान्वयन गरेको अवस्था छ तर नेपालमा त्यसलाई कडाइका साथ लागू गरिएको छैन ।
हाम्रोमा कोभिड केही होइन भनेर हेलचक्र्याइँ गरिएको छ । नियम, कानून लागू गर्ने कुरा आफ्नै लागि भनेको हो भन्ने कुरा कतिपय जनता र समुदायले महसुस गराउन नसक्नु संक्रमितको संख्या बढ्नुको प्रमुख कारण हो ।
पछिल्लो समयमा लक्षण सहितका संक्रमित आउन थालेका छन्, यो खतरनाक हो । असारसम्म लक्षण नभएपछि आईसीयू टेकाउन परेको थिएन । अहिले कोरोना संक्रमणका कारण जटिल अवस्थामा पुगेका विरामीहरु देखिन थालेका छन् । अहिले हामीलाई प्रमुख चुनौति नै लक्षण भएका विरामी त्यसमा पनि जटिल अवस्थाका विरामीको संख्या बढ्नु हो । गम्भीर अवस्थाका संक्रमितहरुमध्ये कतिलाई अहिले आईसीयू र भेन्टिलेटरमा लानुपर्ने अवस्था आइरहेको छ यो खतरा हो ।
जनस्वास्थ्य सम्बन्धी नियमहरु कडाइका साथ लागू गर्नुपर्छ भन्ने सन्देश स्वास्थ्य क्षेत्रले मात्र बुझेर हुँदैन । हरेक मानिसले मास्क नलगाको, सामाजिक दुरी कायम नगरेको र बेला बेलामा हात नधोएको भेट्यो भने सबै क्षेत्रले आफ्नै काम सम्झिएर यसो गर्दा खतरा छ भनी हरेक मानिसले हरेक मानिसलाई निगरानी गरी यसो गर्दा खतरा छ भनेर सन्देस दिने हो भने संक्रमणलाई पक्कै कम गर्न सकिन्छ ।
हामी अरुलाई अर्ती र आदेश त दिन्छौँ तर त्यो नियमहरुलाई प्रयोग गर्ने कुरामा हामी आफैँ चुकेका छौँ । तपाई आफू, आफैँ, आफ्नो लागि जिम्मेवार हो भन्ने कुरा बुझाउन सकियो भने संक्रमितको संख्या कम गराउन सकिन्छ ।
हामीले संक्रमित पत्ता लाग्ने वित्तीकै कन्ट्याक ट्रेसिङ गर्नको लागि जिल्लाभर १४ टिम सक्रिय बनाएका छौँ । स्वाब संकलन गर्नेदेखी सबै काममा सबै टिमले प्रभावकारी रुपमा काम गरेको छ । कतै कोरोना पोजिटिभ आयो भन्ने खबर पाउने वित्तीकै कुन कुन पालिकाको हो भनेर छुट्याइसकेका हुन्छौँ ।
कोरोना पोजिटिभ भएका मानिसहरुलाई सम्पर्क गरेर लक्षण देखिएको छ÷छैन ? घरमै आइसोलेसनमा बस्दा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने अवस्था छ की छैन भनी सोध्ने गरेका छौँ । नियमित रुपमा फोन गरेर संक्रमितहरुलाई लक्षण देखियो भने भन्नुहोस् है, भनेका छौँ ।
सुरु सुरुमा कोरोना संक्रमण भइसकेपछि मानिस गाउँमा बस्नु ठूलो कुरा थियो अहिले यो सामाजिक समस्या विस्तारै रुपान्तरण हुँदै गएको छ । हामीले स्थानीय सरकारलाई पनि सँगै लगेका छौँ । स्वास्थ्य कार्यालयको पहलमा जनप्रतिनिधीहरुले घरमा बस्नुभएकाहरुलाई मास्क, सेनिटाइजर, डिजिटर थर्मोमिटर, स्यानिटरी प्याड लगायतका स्वास्थ्य सामग्री बाँडिरहनुभएको छ । यसो गर्दा कोरोना संक्रमितहरुले गौरवको महसुस गर्नुहुने रहेछ ।
हिजो सम्म हामी कोरोना पोजिटिभ हुने वित्तीकै कुदाएर अस्पताल लानुपर्छ भन्थ्यौँ आज हामी धेरै घरमै आइसोलेसनमा बसिरहेका छौँ, १४ दिनपछि स्वास्थ्य लाभ भएर समुदायमा बसिरहनुभएको र आफ्नो काममा फर्किरहनुभएको स्थिति छ । अहिले समुदायमा कोभिड मैत्री वातावरण बनाइरहेका छौँ ।
कन्ट्याक्ट ट्रेसिङ् भन्ने वित्तीकै टेष्ट गर्ने भनिएको हो । स्वाब दिएर नियमित काम गर्न जानुभएको छ, यो गलत हो । कम्तीमा अलग्गै राखेर कन्ट्याक्ट ट्रेसिङ्को अनुसन्धान गर्ने र संक्रमित भइहालेकाबाट अरुलाई नसार्नु नै भ्याक्सिन र औषधी नआउँदासम्म सुरक्षित रहने प्रमुख उपाय हो । सामाजिक परिचालन गरेर जनप्रतिनिधीलाई नेतृत्व दिएर अरु स्वास्थ्यकर्मी र चिकित्सकबाट प्राविधिक क्षमता लिएमा संक्रमण कम गर्न सकिन्छ ।
अहिले पनि भारत धेरै संक्रमित हुने देशमध्ये छ । पैसा कमाउन गएका नेपालका धेरै मानिसहरु केही पैसा सहित कोरोना लिएर संक्रमित भएर दशैँ मान्न आइरहनुभएको छ । काठमाडौँ उपत्यकामा पनि धेरै जोखिम छ यहाँबाट पनि धेरै मानिसहरु दशैँ मान्न भनेर जानुहुन्छ । यसले संक्रमण फैलिने सम्भावना धेरै बढी हुन्छ ।
खाना खाँदा, मिटिङमा बस्दा राउन्ड टेबलमा बस्ने, मास्क खोल्ने गर्यो भने संक्रमण धेरै सर्छ । भौतिक दुरी कायम गर्ने, मास्क जहिले लगाउने, हातलाई नाक र मुखमा नलैजाने, भीडभाडमा नजाने कोरोना म बाहेक सबैलाई लागेको छ सर्न सक्छ भन्ने सोचेर त्यही अनुसार व्यवहार गर्यौँ भने हामी कोरोनासँग लड्न र यसलाई जित्न सक्छौँ ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम ‘कोरोनाका कुरा’ मा ललितपुरका जिल्ला जनस्वास्थ्य प्रमुख डा. गेलालसँग गरिएको कुराकानीको सम्पादीत अंश)


  •  
  •  
  •