सरकार र डा.केसीबीच ८ बुँदे सहमति

107
  •  
  •  
  •  

काठमाडौं । सरकार र अनसनरत डा.गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा.केसी र सरकारी पक्षबीच मध्यरातमा ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।

सहमति भएसँगै डाक्टर केसीले आइतबार बिहान साढे ९ बजे अनशन तोड्ने तयारी छ । बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

यसअघि शनिबार नै सरकारी वार्ताटोलीले विज्ञप्ति जारी गर्दै डा.केसीले उठाएका अधिकांश माग कार्यान्वनको चरणमा रहेको र केही अध्ययनको क्रममा रहेको भन्दै कोरोनाको विद्यमान विषम परिस्थितीलाई मध्यनजर गर्दै तत्काल अनसन अन्त्य गर्न आग्रह गरेको थियो ।

डा.केसी विभिन्न ६ बुँदे माग राख्दै २५ दिनदेखि आमरण अनशनमा छन्। अनशनप्रति वेवास्ता गर्दै आएको सरकारले सर्वत्र दवाव भएपछि बुधबार २४ औं दिनमा तीन सदस्यीय वार्ता समिति बनाएको थियो ।

सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा तीन सदस्यीय वार्ता टोली बनाएको थियो । वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा.दिलिप शर्मा थिए ।

सरकारले वार्ता टोली बनाएको केही समयपछि बुधबार साँझ नै डा केसीका तर्फबाट वार्ता गर्ने समिति बनेको थियो। डा.केसीका तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको थियो । वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा.लोचन कार्की र ओम प्रकाश अर्याल थिए ।

 


  •  
  •  
  •