डा.केसी र सरकार बीचको वार्ता हरहालतमा सफल पार्नुपर्छः प्रवक्ता श्रेष्ठ

77
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा.गोविन्द केसी र सरकारको बीचमा भइरहेको वार्ता हरहालतमा सफल पार्नुपर्ने बताएका छन्।

फाइल तस्बिर

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सरकारलाई यस्तो आग्रह गरेका छन्। उनले डा.केसीको जीवनरक्षा गर्न र सम्बन्धित सबै सम्वेदनशील बन्न पनि आग्रह गरेका छन्।

डा.केसी अनशनको आज शनिबार २७ औं दिन हो। विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ देखि अनशन थालेका डा केसीको अवस्था गम्भीर हुँदै गएको छ। सहमतिका लागि बिहीबार र शुक्रबार वार्ता भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन।

शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको छ । डा.केसीको जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेको र अन्त्यमा वार्ता निष्कर्षविहीन भएको डा.केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले बताए ।

यसअघि बिहीबार पनि सरकार र डा.केसी पक्षबीच वार्ता भएको थियो। अन्ततः बिहिबार र शुक्रबारको वार्ता असफल भएको डा.क्षेत्रीले जानकारी दिए ।

दुवै पक्षबीच सहमतिका लागि मस्यौंदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिए पनि वार्ता सफल हुन सकेन । शुक्रबार बिहानै वार्तामा बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ता सुरु भएको थियो ।

डा.केसी २६ दिनयता अनसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।


  •  
  •  
  •