सरकारलाई साझा पार्टीको प्रश्न, ‘के डा.केसीलाई मार्न खोजेको हाे ?’

112
  •  
  •  
  •  

काठमाडौं । साझा पार्टीले डा.गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको भन्दै अवस्था र त्यसप्रति सरकारको उदासिनताबारेप्रति गम्भीर चिन्ता प्रकट गरेको छ ।

डा. गोविन्द केसी

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डा.केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा.केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो।’

डा.केसीले २०६९ सालमा पहिलो अनशन शुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्। तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको साझा पार्टीले जनाएको छ ।

 ‘वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन्। यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन। “कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो ?’

विज्ञप्तिमा भनिएको छ, पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा.केसी तिनै मागहरूसहित पुनः अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन ? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ ?’

डा.केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन गर्दै आएको छ। सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने पार्टीले सचेत गराएको छ ।


  •  
  •  
  •