डा. केसीको माग सम्बोधनको लागि सरकारले गठन गर्याे अर्काे वार्ता समिति

200
  •  
  •  
  •  

काठमाडौं, १७ चैत (ओएनएस) : चिकित्सा शिक्षामा भैरहेको माफियातन्त्र अन्त्यको माग राख्दै विगत दस दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्नको लागि सरकारले अर्काे वार्ता समिति गठन गरेको छ ।

मंगलबार आकस्मीक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणी पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई केसीको माग सम्बोधन गर्ने जिम्मा दिएको हो ।

यसअघि सरकारले शिक्षामन्त्री चित्रलेखा यादव र स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई डा. केसीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । तर, मन्त्रीद्वयले डा. केसीसँग प्रभावकारी वार्ता गर्न नसकेपछि पौडेल र पोखरेललाई वार्ता गर्ने निर्देशन दिएको हो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा पौडेलले डा. केसीले उठाएका माग बारे ब्रिफिङ गरेका थिए ।

यसअघि डा. केसीका १० माग बारे वार्ता भएपनि तीन बुँदामा सहमति हुन सकेको थिएन । केसीले उठाएका सात माग तयार भएपनि शिक्षामन्त्री र त्रिभुवन विश्वविद्यालयका पदाधिकारी बर्खास्त गर्नु पर्ने मागमा भने सरकार तयार भएको छैन । यस्तै, देवदह र विराट मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषयमा पनि कुरा मिलेको छैन ।

नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, मेडिकल शिक्षामा पूर्वाधान बढाउनु पर्ने, सबैको पहुँचमा मेडिकल शिक्षा हुनु पर्ने, यसअघि गरिएका सम्झौता पूरा गर्ने मागमा सहमति भएको छ ।


  •  
  •  
  •