डा. केसीको स्वास्थ्य जटिल बन्दै, आइसियू लैजानुपर्ने चिकित्सकको भनाई

106
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : विगत ९ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनको स्वास्थ्य जाँच गरिरहेका प्रा डा दिव्यसिंह शाहकाअनुसार केसीलाई जुनसुकै समयमा पनि आइसियुमा लगी उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।

डा शाहका अनुसार डा केसीको पिसाबमा एसिटोन, कम रक्तचाप ९लो ब्लड प्रेसर, कमजोर मांसपेशी तथा रक्तनली, टाउको दुख्ने, रिङ्गटा लाग्ने लक्षण देखिएको छ । यता केसीले भने आफूलाई आइसियुमा लगी उपचार नगर्न आफ्ना सहयोगीहरुलाई भनेका छन् ।

डा शाहका अनुसार केसीको रक्तनली कमजोर हुँदै जाँदा यसले मस्तिष्क, मुटु तथा मिर्गौलालाई प्रत्यक्ष असर पुर्याउन सक्छ । जुनसुकै समयमा यसको असर देखिन सक्छ । त्यसैले समय–समय इसिजीका मार्फत मुटु र मस्तिष्क परीक्षण हुँदै आएको छ ।

गुणस्तरीय चिकित्साशास्त्र, सबैको पहुँचमा चिकित्साशास्त्र, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, विगतमा गरेका सम्झौताको कार्यान्वयन गर्ने लगायतका १० बुँदै माग राख्दै डा. केसी आमरण अनशनमा बसेका हुन् ।

यसअघि सोमबार विहान डा. गोविन्द केसीको समर्थनमा सयौ विद्यार्थी, युवा तथा पेशाकर्मी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेका थिए । चिकित्साशास्त्रलाई माफियाहरुबाट मुक्त गर्न तथा केसीको माग पूरा गराउँन दबाब स्वरुप उनीहरु उपस्थित भएका थिए ।


  •  
  •  
  •