डा. केसीले भने-‘अब म्यान्डेट बिना वार्ता हुँदैन्’, अब के गर्छन अाेली ?

298
  •  
  •  
  •  

काठमाडाैं, २ साउन (अाेएनएस) : चिकित्सा शिक्षा सुधारकाे लागि १९ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसीले सरकार वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको भन्दै अब म्यान्डेटबिना वार्ता नहुने बताएका छन्।

उनले चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म अब वार्ताकाे नाममा कुनै पनि कुरा नगर्ने भन्दै प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट पारेका छन्।

विज्ञप्ति जारी गर्दै डा केसीले सरकाद्धारा प्रारम्भिक चरणको वार्ता पनि २/३ भएकाेमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्ने कुनै संकेत नदेखिएकाे बताएका छन्।

‘यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएकोले उठाएका एजेन्डाप्रति उदासीन रहेको देखिन्छ’ जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ

डा. केसीले पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन माग समेत जारी विज्ञप्तिद्धारा गरेका छन्। आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भइरहेकाे उनको भनाइ छ।

डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए। डा केसीका तर्फबाट डा सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन्।

डा केसी गत असार १६ देखि जुम्लामा अनसनमा छन्। उनको स्वास्थ्य अवस्था दिनदिनै जटिल बन्दै गएको छ।


  •  
  •  
  •