डा. केसीको अनसनमा अड्कियो देश

191
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : मेडिकल शिक्षामा माफियातन्त्र अन्त्य लगायतको १० बुँदे माग राख्दै विगत एघार दिनयता त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले आमरण अनसन जारी राखेका छन् । केसीले उठाएका मुद्दामा जनसमर्थन बढ्दै गएको छ ।

प्रमुख पार्टीका प्रमुख नेताहरु देखि पेशाकर्मीहरु केसी अनसन बसेको स्थानमा पुगेर समर्थन जनाइरहेका छन् । बुधबारमात्र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा–माओवादीका अध्यक्ष मोहन बैध ऐक्यवद्धता जनाउँद महाराजगञ्ज पुगेका थिए । सरकार पनि केसीको माग सम्बोधन गर्नको लागि हप्ता यता कसरतमा छ ।

सरकारले मुख्य सचिव लीलामणी पौडेल र राष्ट्रिय योजना आयोगका उपध्यक्ष गोविन्द पोखरेललाई वार्ताको जिम्मा दिएको छ । मुख्य सचिव लिलामणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई सरकारले थप म्यान्डेटसहित वार्ताका लागि पठाउने निर्णय गरे बमोजिम बुधबार वार्ता गरेपनि निकास निस्कन सकेन ।

सम्बन्धन दिएका विराट र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तथा कारबाही माग गरिएका पदाधिकारीको बर्खास्तीका विषयमा छानविन गर्न पुनरावेदन अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा अयोग गठन गर्न पनि सरकार तयार भएकोले यो माग पूरा गर्न नसकिने तथा बर्खास्ती माग गरिएका पदाधिकारीहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले तत्कालै सावधानी पत्र पठाउने तयारी भएको छ ।

तर केसीले पदाधिकारीहरुलाई बर्खास्ती नगरेसम्म अनसन नतोड्ने अडान राखेपछि वार्ता सफल हुन नसकेको हो । यस्तै, सम्बन्धन लिने बेला देखाइएका पूर्वाधारहरु पछि फेला नपरे तत्कालै सम्बन्धन खारेज हुने कानुन बनाउन पनि सरकार तयार भएपनि वार्ता सकारात्मक हुन सकिरहेको छैन ।

यता त्रिवि शिक्षण अस्पताल महाजराञ्जका विद्यार्थीहरुले डा‍. केसीको माग पूरा गराउन गरेको प्रदर्शनमा झडप समेत भयो । अस्पतालबाट नारा जुलस गर्दै उनीहरु बाँसबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर नारावाजी र प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले काउन्सिलमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीसँग झडप समेत भएको छ । त्यसक्रममा दुई जना विद्यार्थी घाइते भएका थिए ।

डा. केसीकै अनसनको कारण देशभरका अस्पतालमा इर्मजेन्सी बाहेका सबै सेवा ठप्प छन् । केसीको मागप्रति सरकार उदासिन भएको भन्दै दबाब स्वरुप नेपाल चिकित्सक संघले बुधबारबाट देशभरका सरकारी तथा नीजि अस्पतालका इजर्जेन्सीबाहेका सबै सेवा ठप्प पारेको छ । उनको समर्थनमा विभिन्न जिल्ला–जिल्लामा पनि समर्थन भैरहेको छ ।

यसरी डा. केसीको अनसनले आन्दोलनको रुप लिन थालेपछि संविधान निर्माण लगायतका मुद्दामा सरकारले ध्यान दिन पाएको छैन । सरकारका एक मन्त्री डा. केसीको अनसनका कारण सरकारले संविधान निर्माण र विपक्षीसँगको वार्तामा ध्यान दिन नपाएको बताउँछन् । उनले अनसनमा रहेका डा. केसीको ज्यान जोगाउन सरकार केन्द्रीत रहेको भन्दै त्यसलगत्तै विपक्षीका मागका विषयमा छलफल गर्ने ओएनएसलाई बताए ।


  •  
  •  
  •