सरकारी टोली र डा. केसीबीच वार्ता

147
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : शनिबार वार्ता अस्वीकार गरेका डा. गोविन्द केसीले आइतबार सरकारसँग वार्ता गरेका छन् । वार्ता टोलीका सदस्य शिक्षा मन्त्री चित्रलेखा यादवलाई सहभागि नगराई वार्ता भएको छ ।

बिहान शिक्षण अस्पतालमा वार्तामा सरकारको तर्फबाट वार्ता टोलीका सदस्य स्वास्थ्य मन्त्री खगराज अधिकारी र मुख्यसचिव लीलामणी पौडेलको सहभागिता थियो । केसीका तर्फबाट उनको सहयोगी टोली सहभागि थियो ।

केसीका मागका १० बुँदा र त्यसलाई पूरा गराउने र समस्या समाधान हुने विकल्पका बारेमा कुराकानी भएको थियो । आजै साँझ अर्को वार्ता हुने बताइएको छ ।

चिकित्साशास्त्रलाई गुणस्तरीय र सबैको पहुँचमा हुनुपर्ने नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका १० बुँदे माग राख्दै केसी आठ दिनदेखि आमरण अनशनमा छन् ।


  •  
  •  
  •