कोरोनालाई सामान्य हो, केही होइन भनेर नलिनुस्ः डा.रिजाल

93
  •  
  •  
  •  

कोरोना संक्रमण भएपछि झण्डै २२ दिन जति म र मेरो पत्नी सरला अस्पताल भर्ना भएको थियौँ । हामी दुबै जना पीसीआर नेगेटिभ आएपछि घरमा आएका हौँ । अहिले त्यस्तो ठूलो समस्या केही छैन तर बेला बेलामा जीउ दुख्ने, अल्छी लाग्ने अहिले पनि अलि–अलि हुन्छ ।

डा. भोला रिजाल र उनकी पत्नी सरला कोरोना संक्रमण निको भएपछि

कोरोनाको बारेमा धेरै भ्रमहरु आएका छन् । धेरैले आफ्नो स्वार्थ, लोभ अथवा आर्थिक आर्जनको लागि कोरोनाको बारेमा थरी थरीका कुराहरु राख्ने गरेका त्यस्ता कुराको एकदम आदर गर्दै म स्वास्थ्य सम्बन्धी सरकारको मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गर्न चाहन्छु ।

जब हामी मापदण्ड पालना गर्दैनौँ, मास्क नलगाए पनि केही हुँदैन भनेर बाहिर निस्कन्छौँ, हात नधोइकन आफ्नो हात, नाक, मुख, आँखा छुन्छौँ अथवा भौतिक दुरी कायम नगरी जथाभावी अरुसँग गएर बस्छौँ भने यसले कोरोना संक्रमणलाई बढाइरहेको हुन्छ । सरकारले २ मिटर कायम राख्नु भन्दा भन्दै पनि नाराजुलुश, किनमेल र भोजभतेर गर्ने तथा जहाँसुकै भेट हुँदा सबैजना भेटेर मोजमस्ती गर्ने कुराहरुले हामीलाई धेरै नै पिरोल्छ ।

उमेर भएका युवा मानिसहरुलाई कोरोना संक्रमण नै भएको छैन भन्ने होइन तर संक्रमण भएपनि उनीहरुको मृत्यु दर अलिकति कम हुन्छ, उनीहरुलाई रोगले अलिकति कम ग्रसित पार्छ जबकी उमेर धेरै भएका अथवा पहिला कुनै रोग लागिसकेका सुगर, मृगौला, क्यान्सरका बिरामी मुटुको शल्यक्रिया गरेका र दमको बिरामीलाई कोरोना लाग्यो भने यसको परिणाम नराम्रो हुन सक्छ ।

मेरो पत्नी सरला र मेरो उमेर ७० नाघिसकेको र सरलाले पहिला किमो चलाइसकेकोले हामी अस्पतालमै गएर जतनसाथ चिकित्सकको निगरानी र हेरचाहमा रहँदा पनि सरलालाई २-४ दिन अप्ठ्यारो पारेको थियो ।

धेरैले मलाई यस्तो यस्तो लक्षण देखिएको थियो तर मैले जचाउन पनि गइँन नियमित काम गरिरहेको छु भनेर कतिले भन्छन् त्यस्तालाई मैले आफूले नजँचाए पनि आइशोलेशनमा बस्नुस् अरुलाई नसार्नुस् भन्ने भन्ने शिक्षा दिने गरेको छु । लक्षण भएर पनि जथााभावी हिँडडुल गरी हिँड्यौँ र सरकारले पालना गर्न दिएको कुरा पालना गरेनौँ भने पूरै समाज र राष्ट्रलाई नै हामीले दुःख दिएको ठहर्छ ।

कोरोनालाई सामान्य हो, केही होइन भनेर नलिनुस् । कसैले कोरोनालाई सामान्य रुपमा लिई केही होइन, हामी हिँड्छौँ भनेर नभन्नुस् । आफू बच्नको लागि अरुलाई नमार्नुस् । जसलाई शंका लाग्छ दिनको तीन समय पानीको वाफ लिऔँँ, चिसो बरफहरु नखाउँ, टिम्मुर बेसार, गुर्जो अथवा अरु केही राखेर बेला बेलामा तातोपानी खानुस्, त्यसले हामीलाई बचाउँछ । सामान्य नठान्ने तर यसले म मर्छु की भन्ने पनि नसोचेर उच्च मनोबल राखेर आफू पनि बाचौँ र अरुलाई पनि बचाउँ ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम‘कोरोनाका कुरा’ मा वरिष्ठ स्त्री रोग तथा प्रसूती विशेषज्ञ डा.रिजालसँग गरिएको कुराकानीको सम्पादीत अंश)

 


  •  
  •  
  •