चितवन, ९ भदौं (ओएनएस) : एमाओवादी भित्रको विवाद समधान गर्न नेताहरुले सहमति भएको बताइरहेका बेला अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनमा बाबुराम पक्षले समानान्तर कमिटी गठन गरेको छ । चितवनमा नयाँ नेतृत्व चयन भएको दुई महिनाभित्रै भट्टराई पक्षले समानान्तर कमिटी बनाएको हो ।
नेता अमर रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय समानान्तर कमिटी गठन गरिएको एक नेताले जानकारी दिए । पार्टीभित्र अध्यक्ष दाहालपक्षले अल्पमतको कदर गर्न नसकेकाले त्यसैको व्यवस्थापनका लागि दबाब दिन यस्तो कदम चालिएको नेताहरुले बताउँदै आएका छन् । देशभर यस्ता समानान्तर कमिटीको संख्या करिब डेढ दर्जन पुगेको छ । हालका दिनमा दाहाल र बाबुरामले विवाद नचर्काउने सहहमति बनेको बताइएको थियो । तर पछिल्ला गतिविधले एमाओवादी भित्र फुटको आधार तयार बन्दै गएको देखिएको छ ।