मलाई क्षयरोग भएपछि: डा.अरुणा उप्रेती

465
  •  
  •  
  •  

मलाई ३८ वर्ष अघि विद्यार्थी अवस्थामा, (सन १९८४) मा क्षयरोग लागेको थियो । त्याे बेलामा म तत्कालिन सोभियत संघमा (हाल उक्रोइनमा पढ्थे) झण्डै एकवर्ष अस्पतालमै बसेर उपचार गर्नु पर्‍यो । औषधिको साथै अस्पतालमा नै दिनमा ४ चोटी भोजन दिइन्थ्यो ।

डाक्टर र नर्सले मलाई भन्ने गर्थे ‘औषधि जत्तिकै तिमीले यहाँ दिएको खाना खान जरुरी छ । तिम्रो शरीरमा रोगसाग लड्ने शक्ति कम भएकोले नै तिमी बिरामी परेकी हौँ ।’ अस्पतालबाट ठिक भएर निस्किदा मेरो तौल ५ किलो बढेको थियो । त्यसपछि मैले आफ्नो स्वास्थ्य र भोजनमा बढी ध्यान दिन शुरु गरे ।

डा.अरुणा उप्रेती

अहिले कोरोना संक्रमित भइयो भनेर डराएर तर्सने गर्नु भन्दा आफ्नो बालबालिकाको र घर परिवारको विभिन्न रोगसँग लड्ने शक्ति कसरी बढाउने भनेर विचार गर्नुपर्छ ।

खानाले पनि हाम्रो रोगसँग लड्ने शक्ति बढाउँछन् । त्यसैगरी विभिन्न किसिमका अपहेलित तर सस्तो र सुलभ तरिकाले पाइने विभिन्न दाना, बिउ, मसला र वनस्पतिले पनि रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । यस्ता दाना, बिउहरू प्राय घरमा नै पाइन्छन् । उदाहरणको लागि बेसार र मरिचको प्रयोगको बारेमा पनि धेरै नै छलफल भइसकेको छ । विभिन्न रुघाखोकी लागेका व्यक्तिलार्य मरिच र बेसार तातो पानीमा हालेर ख्वाउने पुरानो चलन हो । अहिले त घरघरमा यो प्रयोग गर्न शुरु गरेको छ ।

भिटामिन ‘सी’ को प्रयोगले संक्रमणबाट बचाउँछ, भनेर विज्ञहरू भन्छन् । किनभने भिटामिन ‘सी’ मा रोग प्रतिरोधात्मक शक्ति हुन्छ । भिटामिन ‘सी’ को खोजी गर्दै औषधि पसलहमा पुग्नुभन्दा पहिले आफ्नै घरमा भिटामिन ‘सी’ भएका वस्तुहरू के छन् भनेर हेरे बेस हुन्छ ।

कागती र अमला प्राय सबै फलफूलमा थोरै धेरै भिटामिन ‘सी’ पाइन्छ । सुकेको अमला, लप्सी पनि भिटामिन ‘सी’ को स्रोत हुन् ।

गोलभेडा, टिमुर, धनिया, बाबरी आदि मिसाएर अचार बनाएर खाँदा भिटामिन ‘सी’ र स्वाद दुबै पाइन्छ । भिटामिन ‘सी’ उमाल्दाखेरी नष्ट हुन्छ, त्यसैले गोलभेडाको अचार बनाउँदा धेरै नपकाएको बेश । कागती पनि उमालेको पानीमा हालेर पकाउने भन्दा पानी आगोबाट निकाली सकेपछि मात्र हाल्नु पर्छ ।

त्यसैगरी टुसा उमारेको केराउ, मटर, चना आदिमा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यिनलाई काँचै सलाद बनाएर खाँदा प्रोटिन लौहतत्व र भिटामिन ‘सी’ पाइन्छन् अर्थात रोगसँग लड्ने शक्ति प्रदान गर्छ । त्यसैगरी गाउँघरमा सजिलै पाइने आलस, फर्सिको बियाँ, सूर्यमुखी फूलको वियाँ पनि सुक्ष्म पौष्टिक तत्वका भण्डार हुन् ।

दिनदिनै अलिअलि प्रयोग गर्दा यिनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । तिलमा १०० ग्राममा १६६४ मि.ग्रा क्याल्सियम पाइन्छ । १०० ग्राम आलसमा २७५ मि.ग्रा क्याल्सियम पाइन्छ । यी दुबै वस्तुको प्रयोग अचार बनाउँदा प्रयोग गरिन्छ । छोप बनाएर पनि खाइन्छ । लड्डु पनि बनाउन सकिन्छ ।

त्यसैगरी बेवास्ता गरिएको, सस्तो जताततै पाइने बदाम छ । बदाममा पनि रोगसँग लड्ने तत्व हुन्छ । १०० ग्राम बदाममा झण्डै २४ ग्राम प्रोटिन हुन्छ । क्याल्सियम ५४ मि.ग्रा हुन्छ । यो प्रोटिन, र क्याल्सियमको भण्डार नै माने पनि हुन्छ । तर धेरै सस्तो भएकोले वेवास्ता गरिन्छ ।

सूर्यमुखीको बिउमा पनि प्रति १०० ग्राममा २३ प्रतिशत प्रोटिन हुन्छ । यस्ता प्रोटिन र क्याल्सियमले भरिपूर्ण भएका दानाहरू अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । बालबालिकाले खाने दाल, तरकारी, हलुवा आदिमा यी वस्तुहरूको प्रयोग उत्तम हुन्छ । यिनलाई पिसेर, भुटेर पनि खानामा हाल्न सकिन्छ ।

फर्सिको तरकारी स्वस्थकर हुन्छ भन्ने सबैलाई थाहा छ, तर फर्सीको बिउमा पनि पोषक तत्व हुन्छन् भन्ने प्राय थाहा हुन्न । थाहा नभए पनि गाउघरतिर फर्सिको दानालाई भुटेर पिसेर अचार बनाएर खाने चलन चाहिँ छ । शहरतिर चाहिँ त्यसलाई यसै फ्यालिन्छ । फर्सीको बियालाई पनि सुकाएर वर्षभरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ बल्ल सिकिदैँछ । तोरीको दाना प्राय तेल बनाउन प्रयोग गरिन्छ । तर तोरीको दाना अचारमा प्रयोग गर्न सकिन्छ । तोरीको दानाबाट बनाइएको लेदो खानासँग खाँदा स्वाद र स्वस्थ दुबै पाइन्छ ।वेवास्ता गरिएका वनस्पति, दाना र बिउको प्रयोगले भोजनको पौष्टिकता बढ्छ, रोगसँग लड्ने शक्ति पाइने भएकोले यस्ता वस्तुहरूको प्रयोग गर्नको लािग आफ्नो वरीपरी हेरौं मनन गरौं ।

यस्ता वस्तुहरू प्रयोग गरेर कोरोनको संक्रमण नहुने भन्ने चाहिँ होइन, तर संक्रमण भइहाले शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिले बचाउँछ भन्ने बुझ्नु पर्छ । साथै अन्य समस्या जस्तो रुघाखोकी, मौसमी ज्वरो आदि पनि भइहाले जटिलता कम हुने सम्भावना चाहिँ हुन्छ । हरेक कोरोना संक्रमित, तर कुनै लक्षण नभएकाहरूले यी सहजै पाइने वस्तु प्रयोग गरेकै बेश हुन्छ । स्वास्थ्यमा दिगोपन आउँछ ।

डा.उप्रेतीको फेसबुकबाट 


  •  
  •  
  •