दोष दिएर मुलुकको विकास हुँदैनः सांसद चौधरी

93
  •  
  •  
  •  

रुपन्देही । नेकपा संसदीय दलका सचेतक एवं प्रतिनिधिसभा सांसद शान्ता चौधरीले कसैलाई दोष दिएर मुलुकको विकास नहुने बताएकी छिन् ।

लियो क्लव अफ तिलोत्तमाद्धारा बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’ कार्यक्रममा बोल्दै सांसद चौधरीले मुलुकको विकास गर्न समाजमा व्याप्त नकारात्मक सोच र चिन्तनको अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।
उनले संघर्ष, त्याग, घृणा र तिरस्कारलाई सहेर जो निरन्तर अगाडि बढ्न सक्छ त्यो मान्छे मात्रै नेतृत्वमा पुग्न सक्ने बताइन् ।

जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाई मेहनत र साहसका साथ अगाडि बढे एक दिन अवश्य सफल भइने भन्दै उनले जुन सुकै क्षेत्रमा पनि लगनशीलता, मेहनत र साहसको आवस्यकता रहेको विचार व्यक्त गरिन् ।
उनले मुलुकमा कम्लरी प्रथा अन्त्य भए पनि वर्गिय बिभेद कायमै रहेकोले समस्या रहेको बताइन् । सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने बताउदै उनले सामाजिक सञ्जाललाई समयमै नियमन नगरिए कुनै दिन बिस्फोट हुन सक्ने तर्फ सचेत गराइन् ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध र अपराधिहरुका लागी कहि ठाउँ नभएको बताए ।

ब्लाइण्ड रक्सका संस्थापक सृष्टि केसीले हाम्रो समाज नकारात्मक कुरालाई विश्वास गरिहाल्ने र सकारात्मक कुरामा संका गर्ने प्रबृत्ति हावी रहेको भन्दै त्यस्तो प्रबृत्ति त्याग्नु पर्ने बताइन । आत्म विश्वास र निरन्तरको प्रयासनै सफलताको कडी भएको भन्दै उनले आफुमा भएको दक्षता र क्षमतालाई पूर्ण मान्न नहुने विचार व्यक्त गरिन् ।

लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष राजन कसजुको अध्यक्षता र लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ एम एफजेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा परामर्शदाता अनन्तराज घिमिरे, एस आर गु्रपका प्रवन्ध निर्देशक सुरेश उप्रेती, सुरेशरत्न बज्राचार्य, सरोज कंडेल, लगायतले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेको थिए ।

सिद्धार्थ गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संचालन दिनेश कुमार श्रेष्ठले गरेका थिए ।


  •  
  •  
  •