दोर्दी खोला बाढी : मृतकमध्ये ३ को सनाखत, ८ घाइते, ६ बेपत्ता(अपडेट)

530
  •  
  •  
  •  

लमजुङ । लमजुङको दोर्दीखोलामा बुधबार आएको बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ ।
दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत भएको हो ।

शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।

एक जनाको शव अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरा र अर्को शव कीर्तिपुरमा भेटिएको थियो । सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ ।

बाढीमा परी आठ घाइते भएका छन् ।  घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको जनाइएको छ ।
घाइतेको सदरमुकाममा रहेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीले जनाएको छ ।

६ जना भने अझै बेपत्ता रहेका छन् । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

शव भेटिएका, घाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

बेपत्तामध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए । शवलाई जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।


  •  
  •  
  •