राष्ट्रपति उम्मेदवारको होडमा रहेका ट्रम्पमाथि बलात्कारको आरोप

226
  •  
  •  
  •  

donald_trumpकाठमाडौँ, १७ बैशाख(ओएनएस) : अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारीका लागि नजिक पुगेका डोनाल्ड ट्रम्पमाथि एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । सन् १९९४ मा ती महिला १३ वर्षको उमेर उनको बलात्कार भएको बताएकी छन् ।

ती महिलाका अनुसार ट्रम्प र उनका एक अरबपति साथी मिलेर यौन दुर्व्यवहार गरेका थिए । दुवैले चार महिनासम्म उनलाई बन्धक बनाएर राखेको आरोप समेत लगाएकी छन् । पीडित भनिएकी ती महिलाले १ सय मिलियन डलर क्षतिपूर्तीको माग गर्दै मुद्दा दायर गरेकी छन् । उनले मंगलबार सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट अफ क्यालिफोर्नियामा मुद्धा दर्ता गरेकी हुन् ।

ती महिलाले आफ्नो नाम केट जोनसन बताएकी छन् । ती महिलाले अदालतमा उनी आफ्नो पक्षमा आफै वकालत गर्न सक्ने समाचारमा जनाइएको छ ।

ती महिलाले भनेकी छन्, ‘ट्रम्प र उनका अरबपति साथी जेफ्री एप्सटाइन मोडलिंङमा करिअर बनाउने कसम खाएर मेरो यौन दुर्व्यवहार गरेका थिए । पछि उनीहरूले धम्की दिएर मेरो प्रयोग गर्ने गर्थे । त्यतिबेला मेरो उमेर मात्र १३ वर्षको थियो ।’

उनले अगाडि भनेकी छन्, ‘मलाई एप्सटाइनको न्युयोर्कमा रहेको घरमा बोलाउने गर्थे । त्यहाँ मानिसहरु सेक्स पार्टी गर्ने गर्थे । उक्त पार्टीमा ट्रम्प पनि हुने गर्थे । ट्रम्पले केही पटक मेरो साथमा गलत क्रियाकलाप समेत गरेका थिए ।’

केटले आफूले ट्रम्पसँग दोस्रो पटक सेक्स पार्टीमा भेट गरेको र सोही क्रममा ट्रम्पले आफ्नो बलात्कार गरेको आरोप लगाएकी छन् ।

ट्रम्पले यी सबै आरोपको खण्डन गरेका छन् । उनले भने, ‘आरोप राजनीतिक रूपमा प्रेरित रहेको छ । मलाई नराम्रो देखाउने प्रयास गरिएको छ । यो सञ्चारमाध्यमको ध्यान आफूतर्फ तान्नका लागि गरिएको छ ।’

यस्तै, एप्सटाइनले भने उक्त आरोप झूठो भएको जनाएका छन् । तर, उनीमाथी पहिले पनि यस्ता आरोप लागेका थिए र बालबालिकालाई प्रताडित गरेको आरोपमा दोषी पनि ठहराइएको थियो ।


  •  
  •  
  •