कैलालीका नदीमा देखिन थाले डल्फिन

821
  •  
  •  
  •  

dolphin-in-kailali
तस्विर : नविन चौधरी

धनगढी, १८ असार (ओएनएस) : कैलालीका नदीहरुमा जलस्तर बढेसंगै विश्वमै दुर्लभ मानिएको जलचर प्राणी डल्फिन देखिन थालेका छन् ।

कैलालीका नदीहरु कर्णाली, मोहना, कान्द्रा, पथरैया, काँडा नदीमा जलस्तर बढेसंगै असार पहिलो सातादेखि डल्फिन देखिन थालेको डल्फिन संरक्षण उपकेन्द्र नारायणपुरका अध्यक्ष भोजराज ढंगानाले जानकारी दिए । उनका अनुसार पथरैया र मोहनाको दोभान, पथरैया र काँडाको दोभान, गैरीनाला र पथरैयाको दोभान तथा कर्णाली र मोहनाको दोभानमा डल्फिन देखिन थालेका छन् ।

मनसुन शुरुभएपछि तथा यहाँका नदीहरुको जलस्तरमा बृद्धि भएपछि डल्फिन देखिन शुरु हुने गरेको जानकारी दिँदै अध्यक्ष ढुंगानाले वर्षायामको तीन महिना दुर्लभ मानिएको जलचर प्राणी डल्फिन देख्न सकिने बताए ।

स्थानीयले डुंगाको सहायतामा डल्फिनको अवलोकन गर्ने गर्दछन । नारायणपुर ९ बैदी ढंगानाटोलमा बिहीबार चार बच्चा र छ ठूलो गरी १० डल्फिन देखिएको सचिव ढुंगानाले जनाए । यो क्षेत्रमा पाइने डल्फिन ग्याङगेटिभ प्रजातीको रहेको र इलावदी नदी प्रजातीको डल्फिन समेत हुनसक्ने डल्फिन संरक्षण केन्द्र थापापुरका सचिव विजयराज श्रेष्ठ बताउँछन ।

२० वर्षदेखि डल्फिन संरक्षणका लागि स्थानीयस्तरबाट गुलेली नियन्त्रण, नदीमा विषादी प्रयोगमा रोक तथा जनचेतनामूलक कार्यक्रम गरिदै आएको सचिव श्रेष्ठले बताए । डल्फिनको प्राकृतिक नजिकै दूरीमा रहेकाले वर्षायाममा यस क्षेत्रका नदीहरुमा डल्फिन देखिने गरेको जानकारी दिँदै सचिव श्रेष्ठले मोहना नदी जल क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गरिनु पर्ने बताए ।

डल्फिन अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्छन । डल्फिन पृथ्वीमा रहेका केहि धेरै बुद्धिमान जीवमध्येमा पर्दछ । उसको सधैं खुशी रहन बानी र मानिससंगको मित्रवत व्यवहारले यो मानिसको प्रीय जीवको रुपमा परिचित छ । गंगा नदीमा पाइने डल्फिनलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषित गरेको छ । डल्फिनलाई नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीको अनुसूचीमा समावेश गरेको छ ।


  •  
  •  
  •