डोलेश्वरमा दर्शनार्थीको घुइँचो

391
  •  
  •  
  •  

भक्तपुर, ६ भदौ :  केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरको शुक्रबार चारै ढोका खुला गरिएको छ । भक्तपुरको सिपाडोल गाविसस्थित डोलेश्वर मन्दिरलाई भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शिर भएको घोषणा गरेको दिनको अवसरमा शुक्रबार मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको हो । शुक्रबार यस मन्दिरमा आउने दर्शनार्थीलाई आफ्नै हातबाट पूजा गर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष किरण थापाले जानकारी दिए ।

केदारनाथका पीठाधीश जगतगुरु श्री भीमाशङ्कर लिंग शिवाचार्यले २०६६ भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरेपछि मन्दिरमा भक्तजनको भीड लाग्न थालेको हो । केदारनाथको शिर भाग घोषणा गरेपछि मन्दिरमा विधिवत् नियम बनाएर व्यवस्थापन समितिले भदौ ६ गते वार्षिकोत्सवका दिन, शिवरात्रि र अक्षयतृतीयाका दिनमात्रै मन्दिरको चारै ढोका खुल्ला गरी मन्दिरभित्रै गएर पूजा गर्न पाइने व्यवस्था गरेको छ । मन्दिरमा शुक्रबार दिनभरि नै विशेष पूजा र भजन हुनेछ ।


  •  
  •  
  •