डलरको भाउ नयाँ उचाइमा, कमजोर बन्यो नेपाली रुपैयाँ

112
  •  
  •  
  •  

काठमाडौं । मंगलबार डलरको भाउ नयाँ उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४।२५ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि २०७७ वैशाख १० मा डलरको भाउ त्यति बेलासम्मकै उच्च १२३.२४ रुपैयाँसम्म पुगेको थियो ।

करिब ३ महिना अघिसम्म डलरको भाउ उकालो लाग्ने दरमा केही कमी आए पनि केही दिनयता पुनः बढ्न थालेको छ । गत असारको तुलनामा फागुनसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.६३ प्रतिशतले कमजोर अवमूल्यन भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सोमबार साँझसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७७.४९ छ । यो पनि हालसम्मकै उच्च हो । असोज १७ (अक्टोबर ३) मा यस्तो दर भारु ७४.१४ थियो ।

कोभिड–१९ पछि भारतीय अर्थतन्त्र पनि अपेक्षित रूपमा सुधार हुन सकेको छैन । यही कारण अमेरिकी डलरको तुलनामा भारु कमजोर बन्दै गएको हो । त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।

 


  •  
  •  
  •