प्रधानमन्त्रीद्वारा महाकाली पुल शिलान्यास

221
  •  
  •  
  •  

pm sher bdr deuba
काठमाडौं, १५ भदौ (ओएनएस) : महाकाली नदीमा बन्ने चार लेनको करिब आठ सय मिटर लामो पुलको आज प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् ।

महाकाली नदी पारी रहेका दोधारा–चाँदनी गाविसलाई जोड्न निर्माण हुने पुल आगामी तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

पुल शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पूर्वबाट मात्रै नभई पश्चिमबाट पनि विकासको गति सुरु भएको बताएका छन् ।

उनले महाकाली नदीमा पुल र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनेपछि देशको विकासमा निकै ठूलो सहयोग पुग्ने बताए । उनले शुख्खा बन्दरगाहा देशकै ठूलो परियोजना भएको बताएका छन् ।

महाकाली पारीका दोधारा चाँदनी अहिलेसमम सडक सञ्जालमा जोडिएका छैनन् । झोलुङ्गे पुलबाटै यहाँका मानिसहरु पैदल तथा मोटरसाइकलमा आवतजावत गर्छन् ।

सरकारले पुल निर्माणका लागि चालु आर्थिक बर्षमा ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ । जसमध्ये १० करोड रकम पुलसंगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । 

पुल निर्माणस्थल ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म चार लेनको सात किलोमिटर सडकसमेत निर्माण हुनेछ भने पुल छेउछाउमा मजबुत तटबन्धसमेत निर्माण गरिनेछ । पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पनि निर्माणका लागि आवश्यक सुरुवाती काम थालिसकेको छ ।


  •  
  •  
  •