२० घण्टासम्म खटिँदैछन् स्वास्थ्यकर्मी

241
  •  
  •  
  •  

काठमाडौं ९ बैशाख ।
मौसमी रुघा र स्वाइन फ्लुले प्रभावित जाजरकोटको पैंक गाविसमा गत चैत २४ गते पुगेका जिल्ला अस्पतालका डा. दीपक पुनले १ हजार ४ सय बिरामीको उपचार गरे। उनले ८ दिनको अवधिमा त्यहाँका २१ गम्भीर बिरामीलाई बचाउन सकिएको जनाए। संक्रमणले १० को ज्यान गएको यो गाविसमा दैनिक २० घण्टा खटेर बिरामीको उपचार गरेको उनले बताए। उपचारमा उनलाई स्वास्थ्यचौकीका अहेव रामचन्द्र गिरीलगायत आधा दर्जन स्वास्थ्यकर्मीले सघाएका थिए। अरूको उपचार गर्दागर्दै बिरामी परेका गिरीको भने राजधानीको टेकु अस्पतालमा उपचार भइरहेको छ।

टालेगाउँ स्वास्थ्यचौकीका अहेव पेम्बा दार्जे लामा र अनमी विष्णु थोकरले मौसमी रुघाखोकीका बिरामीको उपचार गर्न थालेको २४ दिन भयो। उनीहरू नयाँ वर्षको बिदा र शनिबारसमेत नभनी उपचार गरिरहेका छन्। ‘नयाँ वर्षको दिनमै ३ को मृत्यु भयो। एक सय बिरामी उपचारका लागि आए,’ लामाले भने, ‘सुरुमा ३०-४० बिरामी आउँथे। ४ गतेयता दैनिक १ सय ५० भन्दा बढी बिरामी आए। बिरामीको चाप खपिनसक्नु भयो।’

स्वाइन फ्लु सर्ने डर लागीलागी उपचारमा खट्न बाध्य भएको उनले बताए। ‘दैनिक आधा दर्जनलाई स्वास्थ्यचौकीमै राखे उपचार गरें,’ उनले भने।

डा. विभान्त साहले ५ दिनमा पैंक र ढिमेमा २ सयको उपचार गरे। सेनाका डा. प्रणय कार्कीले टालेगाउँमै ६ सयको उपचार गरे। सक्लामा विश्व स्वास्थ्य संगठनका डा. गुणनिधि शर्माले ४ सयको र पाटन अस्पतालका डा. प्रनिलमान सिंह प्रधानले ५ सयको उपचार गरेका छन्। अन्य दर्जन चिकित्सकले लिम्सा, नायकबाडा, मजकोट, थलह र स्याङग्रीमा १ हजारभन्दा बढीको उपचार गरिसकेका छन्। हालसम्म प्रभावित गाविसमा ४ हजारको उपचार भएको जिल्ला स्वास्थ्यले जनाएको छ।

संक्रमण फैलिएको तीन सातापछि मंगलबार लिम्सा, सक्ला, जुगाथापाचौर, अर्छानी तम्ती र गर्खाकोटमा औषधिसहित चिकित्सक पुगेका छन्। प्रभावित क्षेत्रहरूमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वीर अस्पताल, जाजरकोट अस्पताल, विश्व स्वास्थ्य संगठन, पाटन अस्पताल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपालगन्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय सल्यान, जनस्वास्थ्य कार्यालय बाँके, नेपाल क्यान्सर केयर फाउन्डेसन र वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलगायत स्वास्थ्यकर्मी खटिएका हुन्।
कान्तिपुरबाट


  •  
  •  
  •