चीनमा पढ्ने डाक्टरको भविष्य अनिश्चित

139
  •  
  •  
  •  

काठमाडौं १२ चैत ।  चीनमा एमबिबिएस पढेका डाक्टरले यहाँ इन्टर्नसीप गर्न नपाउने भएपछि चीनमा पढेका/पढिरहेका ठूलो संख्याका विद्यार्थीको भविष्य अन्योलमा परेको छ । मन्त्रिपरिषद बैठकले तिनलाई इन्टर्नसीप गराउन दिएको निर्देशनलाई मेडिकल काउन्सिलले उसले जारी गरेको नियमविपरीत र असम्भवपनि भनेर जवाफ दिएपछि यस्ता विद्यार्थीले इन्टर्नसीप गर्न नपाउने भएका हुन ।

काउन्सिलले जारी गरेको ‘नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप ट्रेनिङ’ लागू भएकै ताका चीन सरकारबाट प्राप्त छात्रवृत्ति कोटामा अध्ययन गरी फर्केका केहीलाई चाहिँ इन्टर्नसीपको बन्दोवस्त गर्न काउन्सिल सहमत भएको छ । मन्त्रिपरिषद कार्यालयले बोलाएको बैठकमा काउन्सिल अध्यक्ष जागेश्वर गौतमले उक्त सहमति व्यक्त गरेका हुन । अब शिक्षा मन्त्रालयले तिनलाई इन्टर्नसीप गराउने बेहोराको एजेण्डा मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ ।

मन्त्रिपरिषदको माघ २० गतेको बैठकले ‘चीन सरकारबाट प्राप्त छात्रवृत्ति कोटामा मनोनित भई ४ वर्षे अध्ययन र १ वर्ष इन्टर्नसीप पुरा गरी एमबिबिएस र बिडिएस उपाधि प्राप्त गरेका विद्यार्थी र सोही प्रकृतिका कलेजमा सोही अवधिमा सोही योग्यता हासिल गरेका अन्य विद्यार्थीहरुलाई समेत १ वर्ष इन्टर्नसीप गराई लाइसेन्सिङ परीक्षामा समावेश हुन पाउने व्यवस्था गर्न मेडिकल काउन्सिललाई निर्देशन दिने’ निर्णय गरेको थियो । काउन्सिलले इन्टर्नसीप गराउने दायित्व सम्बद्ध मेडिकल कलेजकै हुने जवाफ भोलिपल्टै दिएको थियो । विदेशमा पढेर आउने ठूलो संख्यामा विद्यार्थीलाई यहाँ इन्टर्नशीप गराउन सम्भव पनि नभएको काउन्सिलले मन्त्रिपरिषद कार्यालयलाई बताएको थियो ।

काउन्सिलले २०६५ साल भदौ १ देखि लागू गरेको ‘नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप ट्रेनिङ’ मै जुन संस्थामा एमबिबिएस/बिडिएस गरेको सोही संस्था इन्टर्नसीप गरी काउन्सिलले लिने लाइसेन्सिङ परीक्षामा सहभागी हुँदा इन्टर्नसीप पुरा गरेको प्रमाण पत्र पेश गर्न अनिवार्य गरेको स्मरण गराएको छ । उक्त निर्णयविरुद्ध न्यायालयमा परेको रीटमा न्यायालयले हस्तक्षेप गर्न नमिल्ने भनि अन्तिम रहेको अवस्थामा त्यसविरुद्ध निर्णय गरे काउन्सिलको क्षेत्राधिकारमा हस्तक्षेप हुन गई गम्भीर असर पर्ने र इन्टर्नसीपलाई काउन्सिलले व्यवस्थापनपनि गर्न नसक्ने चेतावनी दिएको थियो ।

काउन्सिलले चिठी लेखेपछि मुख्यसचिव लिलामणी पौडेलको निर्देशनअनुसार बुधबार डाकिएको बैठकमा काउन्सिल अध्यक्ष जागेश्वर गौतम सन् २००८ को सेप्टेम्बरमा सरकारी छात्रवृत्तिमा पढ्न गई एमबिबिएस पास गरेर आएकालाई इन्टर्नशीप गराउन सहमत भएका थिए । शिक्षा मन्त्रालयसम्बद्ध श्रोतका अनुसार उक्त अवधिमा सरकारबाट मनोनित भएर पढ्न गई एमबिबिएस गरेर आएका इन्टर्नसीप गर्न नपाएका विद्यार्थी एक दर्जन जतिको हाराहारीमा छन् । थप त्यति नै संख्यामा विद्यार्थी फर्किने क्रममा छन् । यसबाहेक पनि सांस्कृति कोटाका नाममा चिनियाँ दूतावास आफैले र चिननिकट ठानिएका संस्थाले समेत छात्रवृत्तिमा पढ्न पठाउँछन । तिनको जानकारी शिक्षा मन्त्रालयलाई पनि छैन । चीनमा पढिरहेका तेजनाथ तिवारीले फेसबुकमार्फत दिएको जानकारीअनुसार चीनमा ६ सयभन्दा बढी विद्यार्थी पढ्दैछन् । ‘काउन्सिलको अडान कायम रहे हाम्रो भविष्य बर्बाद हुन्छ,’ उनले भने ।

नेपालमा एमबिबिएस पुरा गर्न साढे ४ वर्ष सैद्धान्तिक पढाईका साथै १ वर्ष इन्टर्नसीप गर्नपर्छ । चीनमा जाने नेपाली विद्यार्थीले ४ वर्ष पढाई र १ वर्षे इन्टर्नसीप गरी फर्किएका हुन्छन् । छ महिना कम पढेका हुनाले यहाँ काउन्सिलले सोझै लाइसेन्सिङ परीक्षामा सहभागी हुन दिदैन । काउन्सिलका अनुसार चीनमा ५ वर्षमा इन्टर्नसिप नभई पि्र इन्टर्नसिप हो । चीनमा लाइन्सेन्सको परीक्षामा योग्य हुन ५ वर्ष पढाईका साथै १ वर्ष इन्टर्नसीप गर्नपर्छ ।

इन्टर्नसीप पाठ्यक्रमकै एउटा भागको रुपमा रहने र विद्यार्थीको पढाई पुरा गराउने काम सम्बद्ध मेडिकल कलेज/विश्वविद्यालयकै हुने भएकाले विदेशमा पढेर आएका विद्यार्थीलाई यहाँ इन्टर्नसीप गराउने कुरै नहुने गौतम जिकिर गर्छन । बाहिर पढेर यहाँ इन्टर्नसीप गर्नु भनेको पढाई अधुरो छोडेर यहाँ पुरा गर्नु हो । ‘एकाधबाहेक संसारका हरेक देशमा एमबिबिएस पढाई हुन्छ,’ उनले भने, ‘तर एउटा देशमा पढेर प्रयोगात्मक पढाईचाहिँ अर्को देशमा त हुन्न ।’ आफूअघिका अध्यक्षले गाइडलाइन्स लागू हुने ताका छात्रवृत्तिमा पढ्न गएकाको हकमा सकारात्मक हुने प्रतिवद्धता जनाएकाले आफूले तिनलाई इन्टर्नसीप गराउन स्वीकारेको उनले बताए । ‘नभए विदेशमा पढेका कसैलाई पनि नेपालमा इन्टर्नसीप गराउनु हाम्रो काम हैन,’ उनले थपे । छात्रवृत्तिमा पढ्न गएका, चीनबाट पढेर आएका भन्दै इन्टर्नसीप गराउन थाले थेग्न नसकिने उनी बताउछन । गत वर्ष १ हजार २ सय विद्यार्थी एमबिबिएस पढ्न विदेशिएका छन् । पछिल्ल्ाो समय एमबिबिएस पढ्न ठूलो संख्यामा विद्यार्थी किर्गिस्तान जान थालेका छन् । ‘सबैले यही इन्टर्नसीप गर्छु भन्न थाले के गर्ने,’ उनी थप्छन् ।

२०६२/६३ को आन्दोलनपछिको तरल अवस्थामा मन्त्रिपरिषदले चीनबाट एमबिबिएस पास भएर आएकालाई इन्टर्नशीप गराउने निर्णय गर्‍यो, त्रिवि शिक्षण अस्पतालमा इन्टर्नशीप गराइयो । ‘त्यतिबेला विद्यार्थी पढ्न पठाउने कन्सल्टेन्सीले धमिलो पानीमा माछा मारे,’ काउन्सिलका एक अधिकारीले टिप्पणी गरे । त्यसपछि कन्सल्टेन्सीले इन्टर्नसीप नेपालमै गराउने भनि विदेश -खासगरी चीन) का विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थी पठाउन थाले ।

काउन्सिलका अनुसार पाँच वर्ष लगाएर एमबिबिएस पढेपछि इन्टर्नसीपअघि १ वर्ष चिनियाँ भाषा पढ्नपर्ने भएकाले ७ वर्ष समय लाग्छ । चीनको बसाई २ वर्ष छोट्याउने र छात्रवृत्तिको पैसा पनि जोगाउने उद्देश्यले मन्त्रिपरिषदलाई गुमराहमा पारेर उक्त निर्णय गराइएको काउन्सिलको दावी छ । चिनियाँ भाषामा १ वर्ष बिताउन नचाहने विद्यार्थीले दोभाषे राखेरसमेत छ वर्षमा पढाई सिध्याएर आउने गरेको सन्दर्भमा ५ वर्ष पढेर आउनेलाई परीक्षामा सहभागी गराउन नसकिने काउन्सिलको भनाईं छ ।

मेडिकल कलेज सञ्चालकहरुको हितमा चीनमा पढेकालाई नेपालमा इन्टर्नसीप गर्न नदिइएको एक सञ्चालक बताउछन । तिनका अनुसार चीनमा नेपालभन्दा निकै सस्तो -५ वर्षको २५ लाख रुपैयाँ भित्र ) मा पढ्न पाइन्छ । यहाँ ४० लाख रुपैयाँभन्दा महँगो छ । ‘ठूलो संख्यामा विद्यार्थी चीन गएर यहाँ मेडिकल कलेजले विद्यार्थी पाउन छाडेपछि तिनले काउन्सिललाई दबाव दिएर इन्टर्नसीप बन्द गराउन खोजेका हुन्,’ उनले भने । एकजना कन्सल्ट्याण्ट डक्टर भएको ठाउँमा इन्टर्नसीप गर्ने विद्यार्थी पठाउन सकिने भएकाले जति विद्यार्थी भएपनि इन्टर्नसीप व्यवस्थापन गर्न सकिने ती डाक्टरको भनाई छ । कान्तिपुरबाट


  •  
  •  
  •