छोरीको बाँच्ने अधिकार गर्भमै खोस्दै बुवाआमा

139
  •  
  •  
  •  

काठमाडौं १८ माघ ।  जिल्लामा भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउनेको संख्या बढेको छ। अल्ट्रासाउन्डबाट गर्भमा छोरी नै छ भन्ने निश्चित भएपछि गर्भपतन गराउनेको संख्या बढेको पाइएको छ।  गर्भवती महिला अल्ट्रासाउन्डको सेवा रहेका जिल्लाकै स्वास्थ्य संस्थामा वा जिल्लाबाहिर गई भ्रूणको लिंग पहिचान गर्छन्। गर्भपतन भने काठमाडौं, पोखरा वा भरतपुरमा पुगेर गर्ने गरेको स्रोतको दाबी छ।

‘छोरा छ कि छोरी, हेरिदिनुप:यो भन्दै कर गर्छन्’, जिल्लाका एक स्वास्थ्यकर्मी भन्छन्, ‘हामीचाहिँ हेर्दिंदैनौं। यत्ति पनि नहेर्ने भए किन डाक्टर भएर साइनबोर्ड राखेर बसेको भनेर रिसाउँछन्। हामीले नहेरे पनि अरू कसैले हेर्दिन्छन्।’ विशेषगरी पहिले नै छोरी भइसकेका महिलाले फेरि छोरी नै छे भने थाहा पाएपछि गर्भपतन गराउने गरेको उनले बताए।

असामान्य अवस्थाबाहेक १२ साताभन्दा बढीको गर्भपतन गराउनु दण्डनीय हो। बलात्कारबाट वा हाडनाता करणीबाट रहेको गर्भ र गर्भको बच्चाका कारण आमा वा बच्चामा खतरा पर्ने ठहर भएमा १८ सातासम्मको गर्भपतन गर्न एेनले खुला गरेको छ।

तर कानुनले बन्देज लगाएको ‘छोरी’ को पहिचान भएपछि गर्भपतन गराउनेहरू गोरखामा धेरै पाइएको छ। गाउँमा भन्दा यस्तो घटना बजारमा धेरै हुने गरेको छ। गाउँमा ‘पापको डरले’ भ्रूणहत्या गर्दैनन्। बजारमै घर भएका र गाउँबाट बजारमा डेरा गरी बस्ने गर्भवतीहरू बढीजसो यस्तो घटनामा संलग्न छन्।

काठमाडौं, पोखरा वा भरतपुर गएर गर्भपतन गराउनेको संख्या धेरै रहेको यहाँकी एक महिला बताउँछिन्। ‘भिडियो एक्सरे गरेर हेर्दा छोरी छे भने फाल्ने त समाजमा कति छन् कति’, उनी भन्छिन्, ‘गोरखामै भन्दा पनि काठमाडौं, पोखरा वा भरतपुर गएर गर्भपतन गराउँछन्।’

अवैध रूपमा गर्भपतन गराउने यस्ता स्वास्थ्यकर्मीले मनोमानी रकम लिने गर्छन्। ‘अवैध भएकाले कुनै रेट हुँदैन। १० हजार, २० हजार जति पनि लिइदिन्छन्।

महिला कस्तो खान्दानको हो भन्ने अनुमान गरेर पैसा लिन्छन्’, एक स्वास्थ्यकर्मी भन्छन्, ‘कसैको त पेसा नै यस्तै हुन्छ। धेरै नै महिनाको हो र आफूले नसक्ने जस्तो लागे काठमाडौं, पोखरा वा भरतपुरका अस्पतालमा रिफर गरेर कमिसन पनि लिने गर्छन्।’ औषधि खाएर अथवा उपकरणद्वारा गर्भपतन गराउने गरेको उनले बताए।

विश्व स्वास्थ्य संघ स्विजरल्यान्डका अनुसन्धान तथा कार्यक्रम मूल्यांकनसम्बन्धी पूर्वविशेषज्ञ डा. श्याम थापाका अनुसार १२ साताभन्दा बढीको गर्भपतन गर्ने महिलाहरूको मुख्य कारण अरू बच्चा पाउने चाहना नभएको पाइएको छ। दोस्रो मुख्य कारण भ्रूणको लैंगिक पहिचान गरी त्यसका आधारमा पनि गर्भपतन गर्ने गरेको पाइएको छ।

‘अन्य कारणमा गर्भ गराउने व्यक्ति फरार हुनु, घरपरिवारको कारणले महिलाको मानसिक अवस्था सन्तुलनमा नहुनु, भ्रूणको अवस्था ठीक नहुनु, अविवाहित तथा विभिन्न कारणले समयमै गर्भपतन गर्न नपाउनु पनि कारण देखिएको छ’, थापाद्वारा लेखिएको एक सामग्रीमा छ, ‘गर्भ रहेको समयमै थाहा नहुनु र गर्भपतन गर्ने कि नगर्ने भन्ने समयमै निर्णय गर्न नसकेका कारण पनि १२ साताभन्दा बढीको गर्भपतन गर्न आउनेहरू हुन्छन्।’

१२ साताभन्दा बढीको गर्भपतन सेवा लिने महिलाको संख्या नेपालमै बढेको उनले स्वीकार गरेका छन्। साथै १२ साताभन्दा बढीको गर्भपतन गर्न चाहने महिलाका बारेमा धेरैभन्दा धेरै अध्ययन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

१२ साताभन्दा बढीको गर्भपतन गराउनु गैरकानुनीमात्र नभएर जोखिमपूर्ण पनि रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारी बताउँछन्। ‘अवैध त हुँदै हो, अझै बढी महिलाका लागि जोखिमपूर्ण पनि हो’, उनी भन्छन्, ‘अत्यधिक रक्तश्राव हुनसक्छ।

पाठेघर वा नलीमा घाउ हुने, पाक्ने र क्यान्सरसम्म हुनसक्छ। बाँझोपन पनि हुनसक्छ।’ गैरकानुनी भएकाले यस्तो गर्भपतनका घटनाबारे जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी नहुने जिल्ला स्वास्थ्य प्रमुख अधिकारी बताउँछन्।
अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •