घरमा बिजुली काटिँदा डाक्टरहरू हडतालमा

252
  •  
  •  
  •  

काठमाडौं १६ माघ ।
सर्लाहीका सत्यनारायाण कुशवाहा पत्नी सीमादेवीको पाठेघरको शल्यक्रिया गर्न लाग्ने शुल्क तिरेको रसिद लिएर बिहीबार नारायणी उपक्षेत्रीय अस्पतालको अपरेसन थिएटरको ढोकामा पुगे। ‘आज अपरेसन हुँदैन’ भनेर डाक्टरले त्यहाँबाट उनलाई फकाईदिए।

‘पैसा बुझाएको बिल लिएर अपरेसन थिएटरको ढोकामा पुग्नेबितिक्कै डाक्टरले आज अप्रेसन हुँदैन, पछि आउनू भने’, कुशवाहाले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अब पैसा फिर्ता लिएर प्राइभेट अस्पतालमा जान्छु।’

बिहीबार नै गाइनो विभागमा जाँदा त्यहाँ कोही पनि डाक्टर भेटिएनन्। पैसा तिरेको पुर्जी हातमा लिएर बिरामी र उनीहरूका आफन्त भित्रबाहिर गरिरहेका थिए। हातमा पुर्जी लिएका पर्सा डोकैला बहुअरीका उपेन्द्र साहले निरास हुँदै भने, ‘श्रीमती अन्तिमा देवीलाई जाँच गराउनुपर्ने थियो।

यहाँ डाक्टर नै छैनन्। अब प्राइभेट क्लिनिकमा जान्छु।’ अल्ट्रासाउन्डको रिपोर्ट देखाउन गाइनो विभागमा पुगेकी रौतहट भसेडवाकी लालुदेवी पनि डाक्टर बस्ने कुर्सी खाली देखेपछि ढोकाबाटै फर्किइन्।

गाइनो विभागको ढोकामा भेटिएकी अस्पतालकी कर्मचारी इन्दु कमारीले भनिन्, ‘डाक्टरसाब मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को अफिसमा जानुभएको छ, सायद आज आउनुहुन्न।’

अस्पतालको बालबालिका, मानसिक, दाँत, आँखा, कान, छालालगायत रोगको उपचार गर्न बस्ने डाक्टरहरूको कोठा पनि बिहीबार रित्तै थियो। कोठामा डाक्टर नभेटिएपछि निरास भएर अस्पतालबाट फर्किने बिरामी र उनका आफन्तहरूको लर्को नै थियो।

अस्पतालमा शल्यक्रिया सेवा पनि बुधबारदेखि नै ठप्प छ। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी अघोषित हडतालमा उत्रिएकाले बिरामीले सास्ती खेप्नुपरेको हो।

नेपाल विद्युत् प्राधिकरणले बक्यौता महसुल नतिरेको भन्दै गत मंगलबार अस्पतालको आवास क्षेत्रमा विद्युत् लाइन काटिदिएपछि चिकित्सक र स्वाथ्यकर्मी काम ठप्प पारेर अघोषित रूपमा हडतालमा उत्रिएका हुन्। अस्पतालका नाममा विद्युत्को ९२ लाख ६५ हजार दुई सय ८२ रुपैयाँ महसुल बक्यौता छ।

२०५३ सालदेखि नै बक्यौता नतिरेकाले प्राधिकरणले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने आवास क्षेत्रको विद्युत् लाइन काटेको हो। अस्पताल क्षेत्रमा भने प्राधिकरणकले बिजुली काटेको छैन। वीरगन्ज अस्पतालमा ३५ चिकित्सक कार्यरत छन्।

‘चिकित्सकहरू आवासको विद्युत् लाइन नजोडिएसम्म काममा नफर्कने अडानमा छन्’, मेसु रामशंकर ठाकुरले भने, ‘बिरामीको उपचार सेवामा असर नपार्न बारम्बार अनुरोध गर्दा पनि टेरेका छैनन्।’

बिहीबार मेसुको कार्यकक्षमै भेटिएका सर्जन चित्तरञ्जन साह ठाकुरलाई भन्दै थिए, ‘लाइन काट्ने नै हो भने अस्पतालको पनि काट्नुपर्छ, क्वार्टरको मात्र काट्न पाइन्न।’ लाइन काटेपछि क्वार्टरमा पानी नभएर मुखसमेत धुन नपाएको दुखेसो डाक्टर मनोज गुप्ताले पोखे।

प्राधिकरणले बक्यौता रकमको ५० प्रतिशत तिरेपछि मात्र बिजुली जोड्ने जबाफ दिएको ठाकुरले बताए। ‘कोष तथा लेखा नियन्त्रण कार्यालयबाट ऋण मागेर १० लाख रुपैयाँ पठाएँ तर प्राधिकरणका हाकिमले रकम फिर्ता पठाइदिए। कम्तीमा ५० लाख तिर्नुस् अनिमात्र लाइन जोडिन्छ भन्छन्’, उनले भने।

डाक्टरहरूकै लापरबाहीले धेरै बक्यौता भएको ठाकुरले बताए। ‘एकैजना डाक्टरको क्वार्टरमा चारपाँचवटा हिटर र एसी चल्ने गरेको छ’, उनले भने, ‘बिल उठ्छ दुई हजार रुपैयाँ, दिन्छन् पाँच सय अनि कसरी हुन्छ?’

प्रत्येक क्वार्टरमा विद्युत्को सबमिटर जडान गर्न प्रयास गरे पनि कर्मचारी युनियनको आडमा विरोध गरेर डाक्टरहरूले जडान गर्न नदिएको ठाकुरले बताए।

अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीदेखि महोत्तरीसम्मका दैनिक करिब ३ सय बिरामी उपचारका लागि आउँछन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •