काठमाडौँ असार,२१ – मुलुकमा प्रति १० हजारजना बराबर एक चिकित्सकको व्यवस्था गर्ने गरी नयाँ राष्ट्रिय स्वास्थ्य नीति तयार पारिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वर्षको गृहकार्यपछि तयार पारेको राष्ट्रिय स्वास्थ्य नीति मस्यौदामा स्वास्थ्य सेवा सहज र सुलभ बनाउन प्रति १० हजारजना बराबर एक चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीका अनुसार विभिन्न निकायसँग समन्वय गरी मन्त्रालयले तयार पारेको राष्ट्रिय स्वास्थ्य नीतिको मस्यौदा मन्त्रिपरिषदको विधेयक समितिमा पुगेको छ । २३ वर्षअघि तयार पारिएको नीतिले मुलुकको स्वास्थ्य क्षेत्रमा देखिएका जनशक्तिलगायत विविध समस्या समाधान गर्न असम्भव भएकाले नयाँ नीति प्रस्ताव गरिएको हो । अहिलेको नीतिमा प्रत्येक २० हजारजनाको भागमा एक चिकित्सक पनि पर्दैनन् ।
नीतिमा स्वास्थ्यले शिक्षा मन्त्रालयसँग मिलेर मुलुकभरका विद्यालयमा स्कुल स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसका लागि विद्यालयमा कम्तीमा एक स्वास्थ्यकर्मीसहित औषधिको व्यवस्था हुने छ ।
अन्नपूर्ण पोस्ट दैनिक