डिएनए परीक्षणमा कंकाल पत्रकार खड्काकै भएको पुष्टि, घटनाको गहिरो अनुसन्धान गर्न माग

299
  •  
  •  
  •  

काठमाडौं । २०७६ मंसिरमा झोला, पर्ससँगै भेटिएको कंकाल बाजुराका पत्रकार जेतबहाजुर खड्का भएको पुष्टि भएको छ ।

बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको झोला र पर्ससँगै कंकाल भेटिएको थियो । उक्त कंगाल नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा यहि असार१६ गते सो कंगाल पत्रकार खड्काको नै भएको पुष्टि भएको हो ।

यसैबीच नेपाल पत्रकार महासंघले २०७६ मंसिरमा भेटिएको कंकाल वेपत्ता अवस्थामा रहेका नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको मृत्युले स्तब्ध भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय खड्काप्रति हार्दिक श्रद्धाञ्जलीअर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना समेत महासंघले व्यक्त गरेको छ ।

साथै, महासंघ पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि वेपत्ता हुनु र १५ महिनापछि कंगालसंगै फेला परेका सामग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले घटनाको गहिरो अनुसन्धान र सत्यतथ्य छानबिन गर्न तथा शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

रमेश विष्ट


  •  
  •  
  •