डिजिटल प्रविधिमार्फत हाजिर जवाफ

195
  •  
  •  
  •  

लमजुङ । रोट्रयाक क्लव अफ लमजुङको आयोजना तथा बेसिशहर नगरपालिका, रोटरी क्लव अफ लमजुङको  साझेदारिमा सदरमुकाम बेसिशहरमा डिजिटल प्रविधिमार्फत हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित प्रतियोगितामा आरसीडीसी लमजुङ, कोपाडेस क्रियटिभ स्काइ क्लव, वल्र्डभिजन सह– आयोजक रहेका थिए ।

बेसिशहर नगरपालिका स्तरिय प्रतियोगितामा नगरपालिकाभित्रका १६ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा मनकामना बोडिङ स्कूल भकुण्डे पहिलो, श्री आदर्श लोकराज मावि चिति दोस्रो, जनकल्याण मावि उदिपुर तेस्रो र अर्थली प्याराडाइज बोडिङ स्कूल सान्तना भएको छ ।

प्रतियोगितामा विजयीलाई प्रमुख अतिथि बेसिशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल, रोटरी क्लव अफ लमजुङका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठ, रोट्रयाक क्लव अफ लमजुङका अध्यक्ष लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा  मेडल, ट्रफि र प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अर्यालले डिजिटल प्रविधिमार्फत प्रतियोगिता आयोजना गरिएको भन्दै आयोजक क्लवलाई धन्यवाद दिएका थिए ।

यस्तै उनले आगामी दिनमा पनि यस्ता प्रतियोगिताका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको सहजिकरण केदार बोहोरा र रेशम घिमिरेले गरेका थिए ।

रोट्रयाक क्लव अफ लमजुङले जिल्लामा पहिलो पटक डिजिटल प्रविधि भित्र्याएको थियो ।
डिजिटल प्रविधिमार्फत क्लवले प्रतियोगिता सञ्चालन गरेको यो दोस्रो पटक हो ।

क्लवकी अध्यक्ष लक्ष्मी श्रेष्ठले डिजिटल प्रविधि मार्फत यस्ता प्रतियोगिता सञ्चालन गर्दा बालबालिकालाई प्रविधिप्रति रुचि बढ्ने बताइन् ।

क्लवका पूर्व अध्यक्ष सुजन श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनार, रोटरी क्लव अफ लमजुङका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठ लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बेसिशहर नगरपालिकास्थित यशोब्रम्हा माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत नविन वि.कलाई कापी, कलम, पेन्सिल हस्तान्तरण गरिएको थियो ।


  •  
  •  
  •