फिर्ता चाहियो

228
  •  
  •  
  •  

फिर्ता चाहियो
मनिषाले डिभोर्सको पेपरमा दस्तखत गर्दै गरिन। पेपरसहित कहिले को कहिले को नातेदारहरूलाई फकाउन पठाइरहेको छ, महेशले पनि लगातार। चारपटक च्यातिसकी डिभोर्स पेपर मनिषाले। तर पनि महेशले कोसिस छाडेको छैन। महेशसित अर्को विकल्प पनि छैन। कान्छी सुस्मिता आइसकी। कान्छी आएपछि जेठी, न निल्नु न ओकल्नु!
सामाजिक रूपले महेशले परिवारहरूबीच भने सुस्मितालाई पत्नी स्थापित पनि गरिसक्यो। न त सुस्मिता नै सजिलै महेशलाई छाड्ने विचारले पसेकी हो, यो जन्जालमा! मनिषालाई पनि चिनेकी नै हो। झन्डै मर्नै लागेको महेसलाई मनिषाले नै पुनर्जीवन दिएको पनि थाहा थियो। लोग्ने–स्वास्नीबीच कुनै समस्या या झगडासमेत छैन। तैपनि आई नै त हाली, सुस्मिता! आइमाईहरूको समस्या नै यही। जानीजानी भुंग्रामा हामफाल्ने!
पछि हट्ने विन्दुभन्दा धेरैअघि सुस्मिता पुगिसकेकी छे। त्यसैकारण आफन्तहरू दुवै स्वास्नी कायमै राख्ने विकल्पमा सम्झौता गराउन अझै कोसिसमा छन्। केही नलागे डिभोर्स! क्या सजिलो महेशपट्टिकालाई! मनिषापट्टिको अर्थ के र, महेशपट्टिकालाई!
एक महिनादेखि अन्त फ्ल्याट लिएर बसेका छन्, महेश र सुस्मिता। मनिषाको सामुन्ने पर्ने आँट भने महेशले गर्न सकेको छैन। नम्बर देख्नेबित्तिकै फोन पनि काटिदिन्छे। बीचकाहरू मनिषालाई सहानुभूति देखाउँदै वास्तविकता स्वीकार्न सुझाव दिएका दियै छन्।
गीताको फोन आयो। महेशको लगोँटियाकी स्वास्नी। मनिषाको पनि घनिष्ठ दोस्तभन्दा फरक नपर्ने। गीताले पनि ‘महेशले अर्की ल्याइसकेको रियालिटी स्वीकार’ भनी। ‘कि दुवै स्वास्नीहरू दिदीबैनी भएर एकै घरमा बस्नु, कि दुइटा घर गरेर व्यवहार चलाउनु, तर महेशलाई नछोड्नु’ भन्ने सुझाव आयो, गीताको।
मनिषाले सिधै भनी, ‘उसोभए, तिम्रो पोइसित म पोइल आउँछु। अथवा तिमी आफ्नै घर बस। म तिम्रो पोइलाई यो घरमा जोइल ल्याउँछु। मसित तिम्रो पोइ कति मख्ख छ, तिम्लाई भनिरहनुपरेन। तिमी के गर्छाै? कि सँगै बसम्। मलाई बैनी स्वीकार्छौ?’
‘तिमी बहुला भइसक्यौ। सन्की कुरा गर्छौ…’ गीता पड्किई।
‘हो गीता, अरूलाई यो औषधि र त्यो औषधि भनेर प्रेस्क्राइब गर्न सजिलो हुन्छ। तर आफूलाई चोट नपरेसम्म मात्रै हो,’ नरम स्वरले भनी मनिषाले। चड्केर के अर्थ? ऊ स्पष्ट छे, त्यत्ति सजिलै मुक्ति दिनेवाली छैन। गाँठो बाँधिसकेकी छे, के गर्ने भनेर। बीचकाहरूसित रिसाएर कुनचाहिँ पो रौं झर्ने हो र?
‘रामराम मात्र भन्न सकिन्छ। काँध थाप्न सकिन्न। उसो भए देऊ न त डिभोर्स, मनिषा। फ्रि हिम। जब उसको मन अरूसितै गइसकेको छ भने!’ महेशहरू साथै बसेर गीतालाई फोन गर्न लगाएको थाहा पाउन गाह्रो परेन। खासखुस सुनिइरहेकै छ। आफूमा आँट छैन। आफू बिगार गर्ने। अनि सधैं अरूलाई अघि सार्ने बानी थाहा छँदै छ।
‘ओके, आई विल फ्रि हिम। तर मेरो सामान फिर्ता चाहियो। म डिभोर्स गर्दिन्छु। एक हातसे लेना, दुसरा हातसे देना,’ मनिषाले स्पष्ट भनी।
‘ओके, फेयर डिल। तिम्रो सामान फिर्ता गराउने जिम्मा हामी लिन्छौं। के हो त त्यो फिर्ता चाहिएको सामान?’ गीताको आवाजमा राहत झल्कियो। उसले सोची— त्यसै पनि डिभोर्स गर्ने भएपछि महेशले मनिषाको सामान राख्ने कुरै भएन। फिर्ता त दिइहाल्छ नि।
‘उसैलाई थाहा छ, उसलाई मैले दिएको सामान। हो त्यही सामान फिर्ता चाहियो। भनिहालेँ नि, लेनादेना बराबर।’
‘थ्यांक्स्, मेरो भनाइ मान्देकोमा। महेशसित कुरा गरेर चाँडै तिम्रो सामान फिर्ता गराउने प्रोमिस गर्छु। डोन्ट वोरी। जत्ति महँगो भए पनि फिर्ता दिनैपर्छ उसले। श्रीमतीको प्रेसस सामान त राख्न पाइएन नि, डिभोर्स नै हुने भएपछि त!’ गीता एक्साइटेड। मनिषा कठोर हाँसो हाँस्छे र भन्छे मनमनै— गर्लास् मोरी फिर्ता। मनिषाभित्र बुलबुलाइरहेकोे घिन र पलाइसकेको हिंस्रकताको छनक भने गीताले बुझ्न सकिन।
००
अचानक ‘भाउज्यू नमस्ते’ भन्दै नन्द पसेकीले मनिषाले गीतासितको वार्ता टुंग्याई। नन्दको यो सवारी किन? राम्ररी थाहा छ। नन्द सुशिलाका हातको फाइलभित्र फेरि पाँचौपटक टाइप गरिएको डिभोर्स पेपर छ। यो पनि थाहा छ, मनिषालाई।
चिया कुकिजसित नन्द सुशिलाले डिभोर्स पेपर टेबुलमा राखी। सकभर यस्तो नहोस् भन्ने चाहना सबको छ। तर यदि भाउज्यूले सम्झौतै नगर्ने अवस्था नै हो भने ढिलोभन्दा बरु चाँडो आ—आफ्नो बाटो समात्नु बेस भन्ने सुझाव आयो, नन्दको। अर्थात् अपराध दाजुले, सम्झौताचाहिँ  भाउजूले? प्रस्तावहरू भने सुशीला र गीताहरूमार्फत! अर्थात् महिलाहरू नै पुरुषका ‘सशक्त मार्फत’!
नन्दले पुरानो कुरा स्मरण गर्दै सहानुभूति देखाउन थाली, ‘भाउजू, मलाई झलझली याद छ। दादाको दुवै किड्नी लास्ट स्टेजमा थियो। दुवै किड्नीले डायलोसिस नथेग्ने अवस्थामा दादा भरेभोलिमा थिए। मेसिनले मात्रै ज्यान चलाइराखेको थियो। एउटै रगत—नाताको फेमिलीको कसैको पनि किड्नी म्याच हुन्छ भने पनि हाम्रा रक्त नातेदार कोही निस्केनन्, किड्नी डोनेट गर्न। दादाको मृत्यु निश्चित थियो। माँ र मैले त माया नै मारिसकेको नि। माँले त दसदान समेत गर्ने सामानको व्यवस्था गर्न गणेश बाजेलाई भनिसकेको। तपार्इंले आफ्नो एउटा किड्नी दिएरु नै त हो नि, दादाको ज्यान जोगिएको। दादाको यो जीवन तपाईंले दिएकै जीवन हो। तर परिस्थिति नै… खै के भो, के भो यस्तो भाउज्यू?’
यति बेरसम्म चुप बसेकी मनिषाले अचानक मुख खोली, ‘हो कुरोको चुरो पनि यही परिस्थिति हो, नानी। अँ परिस्थिति? मैले उनलाई जीवन दिएँ, त्यो परिस्थिति! बदलामा उनले मेरो जीवन लिए, यो परिस्थिति! किन यो भो परिस्थिति? खै मै बुझ्न सक्दिनँ यो परिस्थिति। नानीसित किन अप्ठेरो मान्नु? एउटा किड्नी झिकेपछि आफ्नो शरीरबाट केही घटेकोजस्तो चेत आएकै थियो मलाई पनि। नआएको होइन। तर आफ्नै पतिसित किड्नी छ भन्ने अर्को चेत पनि थियो। आखिरमा समिपै त हो नि किड्नी! यही भनेर मन सम्हालेकै थिएँ। चाहना पूरै घटेको पनि साँचो हो। तर मन नलागे पनि मैले बेडमा उहाँलाई कहिले कमी गरिनँ। न त हेरविचारमै कमी गरेँ। न त कैले रिसाएँ, न झगडै गरेँ, न घोचेँ। मैले के गरिनँ, नानी? तैपनि किन यस्तो गर्नु भो?’ आँखा भरिए पनि चुहिन दिइन मनिषाले।
‘हो नि, सबै एकएक थाहा छ हामीलाई। त्यसैले माँ–बा सबै तपाईंकै साथ छम्। तपाईं जस्ती पत्नी पाउनु, भाग्य हो दादाको। तर के अर्नु, भाउज्यू, भई त सक्यो। किड्नी दिएर एकपटक स्याक्रिफाइस गर्नु भो, फेरि अर्को एक स्याक्रिफाइस…।’
‘ओके नानी, आई एम रेडी टु स्याक्रिफाइस अगेन। स्याक्रिफाइस जत्ति सबै आइमाईले मात्रै गर्नुपर्छ भन्नुहुन्छ भने ओके, गर्छु सेकेन्ड टाइम नि स्याक्रिफाइस। तर मलाई मेरो सामान फिर्ता चाहियो नि त। त्यो पनि तुरुन्तै। नानीले मेरो सामान फिर्ता दिन भन्नुपर्योू, आफ्नो दादालाई।’
सुशिलाले खुसी हुँदै भनी, ‘त्यो त भाउज्यूको सामान कान्छी भाउज्यू भा ठाममा राख्न त हामी पनि दिन्नौं नि। दादासित मै मागेर ल्याइदिन्छु नि, भाउज्यूको सामान। अनि के नि, त्यो फिर्ता माग्नु भा’को सामानचाहिँ?’
सहज रूपले मनिषाले भनी, ‘मेरो दायाँ किड्नी।’
सुशिला आत्तिई, ‘के रे? के रे? किड्नी?’
मनिषाले स्पष्टै दोहोर्याकराई, ‘हो, मलाई मेरो किड्नी फिर्ता चाहियो। एक हातले किड्नी दिनु, अर्को हातले डिभोर्स पेपर लिई जानु।’
सुशिला वाल्ल परी, भाउज्यूको मुखमा हेरिरही। मनिषाको अनुहारमा भने अलमल थिएन।
फेरि मनिषाले दोहोर्या,ई, ‘मलाई मेरो किड्नी फिर्ता चाहियो। कुन हस्पितलमा कहिले झिक्ने र मेरोमा हाल्ने फिक्स गरेर खबर पाउँ। खर्च छैन भने, मै तिरूँला। तर फिर्ता चाहियो, फिर्ता चाहियो, मेरो किड्नी। आई वान्ट माई किड्नी ब्याक!’ हिस्टेरिकजस्तो भई मनिषा। आत्तिई सुशिला।
मनिषा केही बेर मौन रही। फेरि भनी, ‘नानी, भन्नुस् त, तपाईं पनि आइमाई। मेरो किड्नीले नै सुस्मिताको उपस्थिति सहला त ओछ्यानमा? कति पीडा होला त किड्नीलाई, आम्मामामा…! मलाई त अहिले सम्झँदै नि रिँगटा पो लाग्छ भननन।
आफ्नो सामुन्ने आफ्नै ओछ्यानमा आफ्नो लोग्ने अर्की आइमाईसँग! उफ्! कसरी सहला बिचरो मेरो किड्नीले? त्यसैले मेरो किड्नी फिर्ता चाहियो। उसैकी स्वास्नी सुस्मिताको किड्नी झिकेर उसलाई हाल्दिए भइहाल्छ। हुन त अर्काको कुरा मेरो चासोको भएन। तर मलाई भने मेरो सामान फिर्ता चाहियो। चाहियो भनेपछि चाहियो! मलाई मेरो सामान फिर्ता चाहियो। नानी, लु ल्याइदिनु।’
नागरिकबाट साभार

  •  
  •  
  •