बिझाइरहने खिल

182
  •  
  •  
  •  

बिझाइरहने खिल
काठमाडौं २१ चैत ।तलाक! तलाक! तलाक!
यी तीन शब्दको शक्तिले परिवारमा यस्तरी भुइँचालो ल्याइदेला भनेर न जोहरा अन्सारीले सोचेकी थिइन्, न त फरिदा खातुनले कल्पना नै गरेकी थिइन्। मुस्लिम परिवारमा हुर्किएका उनीहरूले समाजमा तलाकको घटना हुने गरेको सुनेका त थिए, तर आफ्नो जीवनमा यही तलाकले गहिरो घाउ छोडेर जान्छ भन्ने लागेकै थिएन।
तर, भइदियो यस्तै।
विवाहपछि १६ वर्ष सँगै बिताएका महोत्तरीको पश्चिमी भेगमा पर्ने पर्सादेवार–८ का मौलवी धर्मगुरु हबिब मोमीन अन्सारी र पत्नी जोहराबीच सामान्य ठाकठुक भए पनि ठूलो मनमुटाव थिएन। मुस्लिम धर्मका प्रचारकसमेत रहेका मौलवी हबिबले दिएको तलाक मजहबको कानुनविपरीत थियो। पत्नीप्रति उनको आरोप खासै ठूलो थिएन। तर, ‘तेरो अनुहार मन पर्दैन, तँ मूर्ख छेस्, त्यसैले अब अर्को बिहे गर्छु’ भन्दै सम्बन्ध विच्छेद गरे। तलाकमात्रै दिएनन्, २५ वर्षे जोहरालाई कुटपिट गरेर घननिकाला गरिदिए।
इस्लाम कानुनअनुसार पत्नीलाई तीनचोटि ‘तलाक’ भन्दैमा सम्बन्ध विच्छेद भएको मानिँदैन। तीन महिनासम्ममा पत्नीलाई फेरि स्वीकार्न मिल्ने विकल्प पनि राखिएको छ। तर, आवेशको उन्मादमा रहेका पुरुषहरूले तलाकलाई आफ्नो वशमा लिने परिपाटीले कैयौं महिलाको जिन्दगी अँध्यारो बन्ने गरेको छ।यस्तै अन्धकार नियति भोग्न बाध्य भइन्, महोत्तरी पर्सादेवाड– ९ मदरसा टोलकी फरिदा खातुन। विवाहको दुई वर्षपश्चात् २०६० सालमा पति मोहम्मद फारुख शेखले तलाक दिएपछि गर्भवती फरिदाको जीवनयात्रा नै तहसनहस भयो। २५ वर्षीया पत्नीलाई बेवास्ता गर्दै फारुख अर्की महिलाको प्रेममा थिए, त्यस बेला।
दाम्पत्य जीवनको डोरी कसिलो हुँदै गइरहेको थियो। जब शेखले रिसको झोँकमा तीनपटक ‘तलाक’ के भनेका थिए, डोरी चुटियो— कहिल्यै नगासिँने गरी। तलाकको तीखो तीर गाडिएको ११ वर्ष बितिसके पनि फरिदाको मुटुमा बिझेको खिल बेलाबेला बिझाइरहन्छ।कानुनमा पतिले ‘तलाक’ भनेकै आधारमा पत्नीले छोड्न बाध्य हुनु नपर्ने भए पनि यसैलाई वैधानिक बनाउन पुरुषहरू लागिपरेको देखिन्छ। सरिया कानुन र धार्मिक ग्रन्थ कुरानमा समेत नभएको नियमलाई थोपर्दा पुरुषमा जति अभिमान बढ्छ, महिलाहरू यसकै कारण हरपल त्रासमा बाँच्न बाध्य छन्। उनीहरू न कतै उजुरी गर्न सक्छन्, न न्याय नै पाउँछन्। कतिसम्म भयो भने बाँके परसपुरकी केशरजहाँ दर्जीलाई मलेसियामा रहेका पति सलिम दर्जीले चिठीबाटै तलाक दिने दुस्साहस गरे। ‘सलिम दर्जी कैसरजँहालाई तलाक दिइएको छ’ आशयको तीन हरफे वाक्य लेखेर उनले केही महिनाअघि चिठी नै पठाएका थिए।कानुनले तीनपटक तलाक भन्दैमा सम्बन्ध नतोडिने बताए पनि यही प्रथाले जरा गाडिरहेको छ। किन त?

‘प्रायः तीनपटक तलाक भन्दैमा तलाक भइहाल्ने आम बुझाइ गलत हो,’ इस्लामी संघ नेपालका अध्यक्ष मौलाना नजरुल हसन भन्छन्, ‘उक्त चलन गैरकानुनी र अपराध हो।’ सरियतको कानुनअनुसार तलाकको तीन महिने प्रक्रिया हुन्छ, त्यसको विधि पुर्याैएपछि मात्रै त्यसलाई सही अर्थमा तलाक भएको मानिन्छ। ‘विधि नपुर्या,ई तीनपटक त के हजारचोटि तलाक भने पनि त्यो मान्य हुँदैन,’ हसन भन्छन्।

दिनभर कामको बोझबाट फर्किएका श्रीमान्लाई यो ल्याएन र त्यो गरेन भनेर तनाव दिएकै कारण अधिकांश पुरुषले रिसले झोँकमा तलाक दिने गरेको पाइएको बताउँछन्, उनी।

तलाकको नाममा भित्रिएको विकृतिले अशिक्षा, गरिबी र कडा नियमहरूको परिबन्धमा रहेका महिलाहरूलाई दिने झट्का थेक्नै नसक्ने हुन्छ। एकै क्षणमा घरबारविहीन हुने यस्तो नियमले महिलाहरू मानसिक यन्त्रणामा बाँच्न विवश छन्। मौलवी, इस्लामी संघसंस्था वा मुस्लिम महिला अधिकारवादीहरू गलत नियमविरुद्ध डटेर नलाग्नु अर्को विडम्बना हो।

मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खानका अनुसार इस्लाम धर्ममा तलाक छोडपत्रको एक विधि हो। पुरुषलाई मात्र होइन तलाक दिने अधिकार महिलालाई पनि छ। ‘प्रक्रियामात्र भिन्न हो। लहडको रूपमा सोच्दै नसोची विनाकारण तलाक दिने पापी ठहरिन्छ। कुरानमा यसलाई अधिकार होइन विधिस्वरूप प्रयोग गर्ने उपदेश दिइएको छ।’

इस्लामी संघका अध्यक्ष हसनको बुझाइमा यो समस्या ग्रामीण क्षेत्रतिर बढ्दो छ। ‘अशिक्षित वर्गले तीन तलाकलाई बढावा दिने गर्छन्,’ उनले भने, ‘शिक्षित समुदायले भने तलाकसम्बन्धी सरिया कानुनलाई नै अँगाल्ने गरेको पाइएको छ।’

बढ्दो समस्या
पर्सादेवाड– ७ महोत्तरीमा रहेकी हसमुन खातुनलाई श्रीमान् मुस्तकिम शेखले साउदी अरबबाट टेलिफोनमै तलाक दिए। सोही ठाउँकी खुस्मुदा खातुन पनि भारतको मुम्बईमा कार्यरत श्रीमान्ले टेलिफोन–तलाकले सम्बन्ध विच्छेद गर्न बाध्य भइन्। महोत्तरीको धमौरा– ३ की रहेना खातुनलाई तीन सन्तान भएपछि ‘अनुहार नराम्रो भएको’ भन्दै श्रीमान्ले तलाक दिए।

प्रविधिको पहुँच र सञ्चारमाध्यमको व्यापक प्रयोगसँगै तलाकको मान्यता खुकुलो बन्दै गएको छ। वैदेशिक रोजगारमा रहेकाहरूले चिठी वा फोनमार्फत पत्नीलाई तलाक दिनु यसकै उदाहरण हो।

‘सरियतले तलाकसम्बन्धी विधिसहितको व्यवस्था गर्दागर्दै पनि सो उल्लंघन हुँदै आएको वर्षौं भइसक्यो,’ पर्सादेवाड– ९ महोत्तरी मदरसाका मौलाना बद्रे आलम भन्छन्, ‘यस्तो प्रवृत्तिले स्वास्नीसँग पिण्ड छुट्याउने कार्य अचेल एकदमै बढेको छ।’

पर्सा, महोत्तरी, धनुषा, बाँके लगायतका जिल्लाहरूमा तलाकसम्बन्धी घटना बढ्दो छ। मुस्लिम महिलाहरूको हकमा पैरवीको काम गर्ने सामुदायिक विकास परियोजनकी साधना बर्माका अनुसार महोत्तरी जिल्लामा मात्रै यसवर्ष ४ सय ५० तलाकको घटना सार्वजनिक भएको छ। जसमा धमौरा र पर्सादेवार गाविस अत्यधिक प्रभावित गाउँ हुन्। ‘सार्वजनिक भएका मात्रै यति हुन्, कतिपय घटना त प्रकाशमा आउनै पाउँदैनन्,’ उनी भन्छिन्।

कतिपय मौलानाहरू तलाकको घटना बढ्नुलाई दाइजो कारक हुने बताउँछन्। ‘विदेशमा भएका केटाले धेरै पैसा कमाउँछन् भन्ने लोभ हुन्छ,’ इस्लामी संघ नेपालका अध्यक्ष मौलाना नजरुल हसन भन्छन्, ‘तिनलाई ज्वाइँ बनाउन मेहरको रकम (केटीका बुवाले निकाहका बेला छोरीको लागि भनेर दिने रकम वा जिन्सी) धेरै दिएर प्रलोभनमा पारी छोरीसँग विवाह गराइदिने चलन बढेको छ। यस्ता विविध कारणले विकराल समस्या निम्त्यारहेको देखिन्छ।’

वैदेशिक रोजगारीको क्रमले पनि अप्रत्यक्ष रूपमा तलाकलाई बढावा दिएको छ। रिस वा ईर्ष्या पाल्नेहरूले पत्नी कसैसँग लागेको नराम्रो खबर विदेशमा सुनाउने गर्छन्। ‘शंकाकै भरमा उतैबाट तिनका पतिले टेलिफोन वा चिठीमार्फत तलाक दिन्छन्। यो क्रम अहिले बढेको छ,’ हसन विश्लेषण गर्छन्।

तीन विधि

इस्लामी कानुन (सुरा–ए–तलाक) आयते– १२, रुकु –२ अनुसार धार्मिक ग्रन्थ कुरान मजीदमा तलाकको तीन प्रक्रिया बताइएको छ। पहिलो तलाके हसन, दोस्रो तलाके अहसन र तेस्रो तलाके बदई अर्थात् अन्तिम तलाक। ‘यसमा महिला गर्भवती तथा महिनावारी भएको अवस्थामा तलाक दिनु हुँदैन भनिएको छ,’ मौलाना बद्रे आलम भन्छन्, ‘यो अवस्थामा दिइएको तलाक मान्य हँुदैन।’

तलाके हसनमा पतिले पत्नीलाई पहिलो तलाक दिन्छ। त्यसपछि पत्नीलाई घरबाट निकाल्नु हुँदैन, सम्पूर्ण जिम्मेवारी पूर्ववत् चलिरहन्छ। पहिलो तलाकपछि लोग्ने–स्वास्नीले गल्ती महसुस गरी पुनः सँगै बस्न चाहे राजीखुसी बस्न पाउँछन्। यस विधिबारे मुहम्मद फारुक खाँद्वारा हिन्दीभाषामा अनुदित कुरान मजीदमा भनिएको छ— जो व्यक्ति आफ्नो पत्नीसँग नमिल्ने ठानेरै बसेको छ, त्यस्ताको लागि चार महिनाको अवधि दिइएको हुन्छ। यसबीच तिनीहरू रुजू अर्थात् मिल्न चाहे मिल्न सक्छन्। दोस्रो तलाके अहसनमा महिला मासिक धर्मबाट पवित्र भइसकेपछि मात्र तलाक दिन मिल्छ। पहिलो तलाकको एक महिनापछि दोस्रो तलाक दिइन्छ। यसमा पनि पहिलेकै प्रक्रिया अपनाइन्छ। दोस्रो तलाकको अवधिमा दुवैमा पश्चाताप भए पुनः मिल्न सक्छन्। दोस्रो तलाकमा पनि सँगै बस्ने अवस्था नरहेमा एक महिनापछि तेस्रो अर्थात् अन्तिम तलाक दिइन्छ। विधिसहितको तेस्रो तलाकपछि पूर्ण रूपमा सम्बन्ध विच्छेद हुन्छ। तेस्रो तलाकअघि नै दुवैे मिल्न गएमा अघिल्ला दुवै तलाक भने स्वतः बदर मानिन्छ।

तीन तलाकपश्चात् दुवै मिल्न चाहेमा त्यसका कुनै समस्या छैन, जसको उपायबारे कुरानमै उल्लेख छ। कुरान भन्छ— पत्नीलाई तलाक दिइसकेपछि पतिका लागि तिनी जायज रहदिँन, जबसम्म उसले फेरि अर्को पुरुषसँग विवाह नगरोस् र दोस्रो पतिले उनलाई तलाक नदेओस्। दोस्रो पतिसँग तलाकको सम्पूर्ण प्रक्रिया पूरा गरेपछि उनीहरू फर्केर आउन सक्छन्।

तर बिडम्बना, तीन तलाककै दुष्प्रभावले यस नियमलाई ‘कन्ट्र्र्याक्ट म्यारिज’को रूपमा दुरुपयोग गरिएको सीमा खान बताउँछिन्।

इस्लामी कानुनमा महिलालाई पनि तलाक दिने अधिकार छ, यसलाई ‘खुला’ भन्ने गरिन्छ। पतिसँग बस्न नसक्ने कारणसहित सरिया अदालतमा उजुरी दिनुपर्छ। कारण सही ठहरिए मात्र तलाकलाई मान्यता दिइन्छ, जसका लागि तीन महिना पर्खिरहनु पर्दैन।

निष्प्रभावी सरिया कानुन
मौलाना नजरुल हसनका अनुसार कुनै समय इस्लामी शासकले डर देखाउन तीन तलाकको विधि मानिदिएका थिए, मुसलमानको एक पक्षले त्यसैलाई नियम बनाएर मानिरहे। उक्त चलन गैरकानुनी भए पनि सजायको व्यवस्था कानुनमा उल्लेख छैन। त्यसैले समाजले त्यस्ता अपराधीलाई घृणा गर्नुबाहेक केही गर्न सक्दैन। ‘दण्डहिनताकै कारण तलाकको बेथितिले समाजमा जडो गाडिसकेको छ,’ उनी भन्छन्, ‘इस्लामी सरिया अदालत नभएर पनि यस्तो विकृति बढ्दो छ।’

यसखाले धार्मिक अफवाह हटाउन धर्मगुरुहरूले नै पहल गर्नुपर्ने बताउँछिन्, सीमा खान। कुरानमा तीन तलाकलाई तलाकै मान्नुपर्ने वा सही तलाक हो भन्ने कतै उल्लेख छैन। ‘हामीले पारिवारिक कानुनको माग गरेको पनि यिनै समस्यालाई नियन्त्रण गर्न हो,’ खान भन्छिन्।

मौलवी बद्रे आलम त तलाक विधिमै विरोधाभास रहेको देख्छन्। तीन महिनामा प्रक्रिया पूरा गरी दिइने तलाक पनि तलाक हो,’ उनले भने, ‘एकैपटक भनिने तीन तलाकलाई पनि बदर गरिन्न।’ कुरान अध्ययनको कमी, नियमको प्रचारप्रसार र सही व्याख्याको अभावमा तलाकको सही प्रक्रियामाथि धुलो जमेको बताउँछन्, उनी। यस्तो प्रवृत्तिको सुधार गर्ने पहिलो कर्तव्य धर्मगुरुकै भएकाले कुरानको विभिन्न नियमको व्याख्या गरेर समाजलाई जागृत गराउनुपर्ने उनको सुझाव छ।

सरिया कानुन लागू नहुँदा भित्रिएको विकृति रोक्न कतिपय महिला अधिकारकर्मी पारिवारिक कानुनको पक्षमा देखिएका छन्। नेपाली कानुनले मानेका कतिपय कुरा इस्लाम धर्मले मान्दैन। तलाकको केश तीन महिनाभित्र सक्नुपर्छ तर नेपाली कानुनमा उजुरी चल्दै समय गुजि्रसक्छ। मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान चाहन्छिन्, तलाकको मुद्दा कानुनी प्रक्रियाभित्र आओस्। ‘यसैले परिवारिक कानुनको माग गरेका हौं। संविधानमा मुस्लिम महिलाको हकलाई ध्यान दिई पारिवारिक कानुनी ड्राफ्ट बनाउन जरुरी छ,’ उनी सुझाउँछिन्, ‘जसमा मेहेरको रकम फिर्ता, बच्चाको जिम्मेवारी पुरुषले लिनुपर्ने र तलाक पाएकी महिलालाई आर्थिक व्यवस्था भएमात्र समाधान हुन सक्छ।’

मौलाना नजरुल हसन पनि पारिवारिक कानुनकै पक्षमा छन्। ‘यसले समस्या समाधानका साथै विकृति नियन्त्रण गर्न सक्छ,’ उनले भने, ‘संविधानमा यस्तो व्यस्थाको माग राखिरहेका छौं, तर नेताहरूले मर्म बुझिदिएका छैनन्।’

सुधारको प्रयास
तलाकपीडित महिलाहरूको पुनर्विवाह र पुनर्स्थापनाका लागि महोत्तरीको सामुदायिक विकास परियोजनाले सहयोग गर्दै आएको छ। यही संस्थामार्फत कतिपय महिलाहरूको पुनर्विवाह पनि भएको छ। धमौरा गाविसमा १५ जना र पर्सादेवाडमा पाँच जनाको पुनर्विवाह गराइएको बताउँछन्, अध्यक्ष विजय चौधरी। ‘सुरुमा मौलवीहरूले अवरोध गरे पनि हाल प्रहरी–प्रशासनको डरले चुप लाग्न थालेका छन्,’ उनले सुनाए।

यसै अभियानअन्तर्गत निकै पहिले मौलवी पतिसँग तलाक पाएकी जोहरा खातुन न्यायपछि पुनः पतिसँगै बस्न थालेकी छिन्। परियोजना संयोजक साधना बर्मा भन्छिन्, ‘मुस्लिमहरूको आफ्नै कानुनी प्रक्रिया रहेकाले छिट्टै सुधार हुनचाहिँ गाह्रै छ।’ नागरिकबाट


  •  
  •  
  •