नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न कार्ययोजना तयार

664
  •  
  •  
  •  

काठमाडौँ, १६ भदौ : नसर्ने रोगको रोकथाम तथा नियन्त्रण नगर्ने हो भने सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने सम्भावना न्यून रहन्छ ।

अहिले सम्पूर्ण मृत्युमध्ये करिब ६० प्रतिशत हिस्सा नसर्ने रोगहरु मुटु, चोटपटक, मानसिक स्वास्थ्य, अर्बुद, श्वासप्रश्वासले ओगटेको स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएका छन् ।

ती दुई संस्थाद्वारा पहिलोपटक तयार पारेको नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना २०१४–२०२० मा सो सम्भावना औँल्याइएको हो । मृत्युमध्ये मुटु रोग उच्च रहेको छ । २२ प्रतिशत मृत्यु यही रोगका कारण हुने गर्दछ । साथै, चोटपटक १९ प्रतिशत, मानसिक स्वास्थ्य १८ प्रतिशत, अर्बुद १७ प्रतिशत र श्वासप्रश्वास छ प्रतिशत रहेको छ ।

सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर आहार, शारीरिक निष्क्रियता, मोटोपन र अधिक तौल, मदिराको सेवन, वायु प्रदूषणजस्ता कारणले नेपालमा नसर्ने रोगको जोखिम बढिरहेको कार्ययोजनाले आँैल्याएको छ ।

कार्ययोजनाले मुटु, अर्बुद, मधुमेह, श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगबाट हुने मृत्युदरमा २५ प्रतिशतले घटाउने, १५ वर्षभन्दा माथिका सुर्ती सेवन गर्ने जनसङ्ख्यामा ३० प्रतिशतले कमी ल्याउने, मोटोपन र मधुमेहको वृद्धि रोक्ने, नसर्ने रोगको उपचारका लागि आवश्यक पर्ने किन्न सकिने आधारभूत प्रविधिहरु तथा अत्यावश्यक औषधिहरु सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा ८० प्रतिशत उपलब्ध गराउने लक्ष्य कार्ययोजनाले निर्धारण गरेको छ ।

नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बारेमा छलफल गर्न ती दुई संस्थाद्वारा संयुक्त रुपमा दुईदिने छलफल कार्यक्रम आज राजधानीमा आयोजना गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले मन्त्रालयले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकता दिई काम गरिरहेको जानकारी दिए ।

उनले नसर्ने रोगका कारक तत्वबारे आम जनतालाई सुसूचित पार्न विशेष रुपमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन भइराखेको र उपचारका लागि अस्पताललाई थप स्रोत साधन सम्पन्न गराउँदै जाने नीति रहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. यज्ञबहादुर कार्कीले सरुवा रोगभन्दा नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि सरकारले बढी ध्यान दिएको बताए ।


  •  
  •  
  •