बाढी डुबान क्षेत्रमा रोगको सङ्क्रमण

95
  •  
  •  
  •  

धनगढी, ५ भदौ  :  एक हप्ताअघि भएको बाढी र डुबानको समस्याबाट प्रभावित कैलाली जिल्लाको पूर्वी क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण देखिन थालेको छ । रोगको सङ्क्रमण देखिन थालेपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली रोग प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख जयबहादुर कार्कीले बुधबार मात्रै बाढी र डुबान प्रभावित क्षेत्र धनसिंपुर, मुनुवा, भजनी, थापापुर, जोशीपुर, बौनियालगायतका क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीले झन्डै ४०० बिरामीको उपचार गरेको जानकारी दिए । ती क्षेत्रका बासिन्दामा आँखा पाक्ने, भाइरल ज्वरो, टाइफाइड, पखाला, आउँमासी, छालासम्बन्धी रोगको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्यकर्मीको टोलीले रोगको सङ्क्रमणबाट बढी प्रभावित क्षेत्रका वडामा नै पुगेर बिरामीको उपाचार सुरु गरेको छ । रोगबाट कम प्रभावित अन्य क्षेत्रका बिरामीको भने सम्बन्धित क्षेत्रका स्वास्थ्य चौकीमार्फत उपचार थालिएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा रोगको प्रकोप फैलिन नदिन उच्च सतर्कता अपनाएको र यस क्रममा स्वास्थ्यसम्बन्धी चेतनामूलक क्रियाकलाप पनि सुरु गरिएको कार्कीले बताए । बाढी र डुबानपछि प्रभावित क्षेत्रमा खानेपानीको स्रोत प्रदूषित भई खानपिनमा ध्यान नदिएको र आवासमा देखिएको समस्याका कारण रोगको सङ्क्रमण देखिएको जनाइएको छ ।


  •  
  •  
  •