‘सहमतिका लागि अब अन्तिम प्रयास’

190
  •  
  •  
  •  

काठमाडौं, ४ चैत (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रमुख दलका शीर्ष नेताहरुलाई डाकेर सहमतिका लागि आगामी चैत ११ गतेसम्मको समय दिएका छन् ।

सहमति नभएको भन्दै आन्दोलन घोषणा गरेको प्रतिपक्षदेखि सत्तापक्षका शीर्ष तहका नेतालाई एकठाउँ राखेर सहमतिका लागि आग्रह गरेपनि शीर्ष नेताहरु सहमतिको बाधक एक–अर्कालाई देखाउँदा वार्ता सार्थक बन्न सकेन । नेम्बाङले भने विषय वा प्रक्रियामा सहमतिका लागि आगामी ११ गतेसम्मको समय सीमा दलहरुलाई दिएका छन् ।

‘मैले नागरिक समाजदेखि प्रतिपक्ष र सत्तापक्षबाट सहमति गर्छौं भनेपछि विनासूचना संविधानसभाको बैठक स्थगित गरेको थिए’, नेम्बाङले भने, ‘संविधानसभा एक महिनासम्म स्थगित हुँदा परिणाम नआउदा जनतालाई के जवाफ दिने भनेर मैले दलका नेतासँग आज सोधेको छु ।’ आफूले सिंगो देशको प्रश्नको उत्तर दिनुपर्ने भन्दै जनताको प्रश्नको जवाफका लागि दलहरु तयार हनुुपर्ने उनले बताए ।  सभाध्यक्ष नेम्बाङले दलहरुसँग संविधानसभा भवनमै बैठक बसेर सहमतिमा पुग्न पनि प्रस्ताव गरेका छन् ।

प्रतिपक्षले सहमतिका लागि सत्तापक्षले संविधानसभाको बैठक नबोलाइ लचकता देखाएर आउनुपर्ने भाव देखाएको थियो । ३० दलीय मोर्चाका संयोजक बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रक्रिया स्थगित गरेर सहमतिका लागि आए सहमति गाह्रो नभएको बताए । उनले सहमतिका लागि कुनै कठीन अवस्था नरहेको भन्दै सहमति हुन नसक्नुलाई ‘पहेली’ भनेका छन् ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सत्तापक्षले दुईतिहाईको दम्भ नत्याग्दासम्म सहमतिको संभावना नरहेको बताए । ‘मधेसलाई पहाडसँग जोडेर प्रदेश निर्माण गर्ने र जनजातिलाई अल्पमतमा पार्ने काम बन्द नहुँदासम्म सहमति संभव छैन’, यादवले भने, ‘दुई तिहाईबाटै संविधान जारी गर्ने भए सहमति किन आवश्यक पर्यो र ?’ शीर्ष बैठकमा यादवले सहमतिका लागि विपक्षका माग सम्बोधन गर्न वा संविधान दुई तिहाबाट जारी गरेर आन्दोलनको मैदान खाली गर्न सत्तापक्षलाई चुनौंति गरेका थिए ।

एमाले प्रमुख सचेतक अग्नी खरेलले सहमतिका लागि आफूहरु तयार रहेपनि सधै सहमति भनेर संविधानसभा बन्धक बन्न नसक्ने बताए । उनले सहमतिका लागि विपक्षीहरु जिम्मेवार रुपमा प्रस्तुत भए अब अन्तिम पटकका लागि प्रयास गर्ने भन्दै त्यो प्रयास सफल नभए अघि बढ्ने बताए । अब कति समय कुर्ने त भन्ने प्रश्नमा उनले भने, ‘सहमतिका लागि कुनै समस्या छैन, उहाँहरु (विपक्षी) जिम्मेवार भएर प्रस्तुत हुन्छन् भने अब एकपटक प्रयास हुन्छ, भएन भने प्रक्रिया अघि बढ्छ ।’

‘सभामुखले फ्रम द हर्सेस माउथ सुन्ने इच्छा गर्नुभएको थियो आज हर्सहरु आउँनुभएको छ’ खरेल भने, ‘अब कति समय दिने र प्रक्रिया अघि बढउने भन्ने विषयमा निर्णय पनि उहाँले नैं गर्नुहुने छ ।’ उनले सत्तापक्षले अब धेरै समय रोकेर राख्नुस भन्ने अवस्था नरहेको बताए ।


  •  
  •  
  •