मोदीको भ्रमणबारे छलफल

170
  •  
  •  
  •  

काठमाडौं, २१ असार (ओएनएस) । अर्थमन्त्री डा. रामशरण महत र नेपालस्थित भारतीय राजदूत रञ्जित रेबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा छलफल भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको मोदीको नेपाल भ्रमणको तयारीका बारेमा छलफल भएको हो ।

मोदी नेपालका प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा आगामी साउनको तेस्रो साता नेपाल भ्रमणमा आउँदै छन् । भ्रमणको तयारी अवस्थाका बारेमा बुझ्न र द्विपक्षीय हितका विषयमा कुराकानी गर्न भारतका विदेशमन्त्री सुषमा स्वराज साउन दोस्रो साता नेपाल भ्रमणमा आउने भएकाले सोही विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री डा. महतले प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकामा उपचार भइरहेको र चाँडै नै स्वस्थ भएर स्वदेश फर्किन जानकारी गराएका थिए । भारतका सरकार प्रमुखले सन् १९९७ यता नेपालको भ्रमण नगरेको उल्लेख गर्दै उनले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत सम्वन्धमा तयारी भइरहेको बताए ।

उनले छिमेकीका नाताले भारतले नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको र आगामी दिनमा ठूलो सहयोगको अपेक्षा बताए ।

उनले नेपालको जलविद्युत्, काठमाडौं तराई द्रुत मार्ग, हुलाकी राजमार्ग, बैतडीको झुलाघाट पुल र महाकाली पुल तथा क्रिकेट एकेडेमी निर्माणमा सहयोग गर्न आग्रह पनि गरे । भारतीय राजदूत रेले भारतका प्रधानमन्त्री मोदीको भ्रमणका बेला ठूलो सहयोगको घोषणा हुन लागेको जानकारी गराएका थिए । उनले सो अवसरमा पारस्परिक हितका लागि उठाइनुपर्ने केही विषय भए अग्रिम जानकारी दिन पनि आग्रह गरेका थिए । उल्लेखित विषय विदेशमन्त्री स्वराजको भ्रमणका बेला पनि उठाउन सकिने राजदूत रे को भनाइ थियो ।

राजदूत रेले माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरुण तेस्रोको पावर डेभलपमेन्ट पिडिए गर्न भारत तयार रहेको जानकारी दिए । त्यतिमात्र नभई नेपालको क्रिकेट मैदान निर्माणका लागि पनि सहयोग गर्न तयार रहेको बताए । सो अवसरमा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउने, पशुपतिनाथ क्षेत्रमा धर्मशाला बनाउने, चुरे संरक्षण, नेपाल प्रहरी प्रतिष्ठानलगायतमा भारतीयको सहयोगका विषयमा छलफल भएको थियो ।


  •  
  •  
  •