‘गाविसस्तरमा पनि विपद जोखिम न्यूनिकरण योजना बन्दै’

359
  •  
  •  
  •  

सिन्धुपाल्चोक, १ जेठ(ओएनएस) : २०७२ बैशाख १२ को भूकम्पबाट अति प्रभावित जिल्लामा पुननिर्माणमा सघाउने दक्ष जनशक्ति उत्पादनको काम सुरु भएको छ । विभिन्न संघ संस्थाले सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको पाठ्यक्रम अनुसार डकर्मीका लागि सात दिने तालिम दिइरहेका छन् । भवन निर्माणमा अनुभवी डकर्मीलाई भूकम्प प्रतिरोधी प्रविधिका बारेमा जानकारी गराएर सुरक्षित घरहरुको सँख्या बृद्धि गराउने उद्धेश्यसहित तालिम सञ्चालन भैरहेका छन् ।

training to built home in sindhupalchowkविपद जोखिम न्यूनिकरणमा लामो समयदेखि काम गरिरहेको संस्था केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)ले सिन्धुपाल्चोकका ६ गाविसमा ५ सय १० जना डकर्मीलाई तालिम दिने भएको छ । बरुवा, बाँसखर्क, भोताङ, दुवाचौर, लाँगार्चे र थकनीका ५ सय १० डकर्मीलाई सुरक्षित घर निर्माण सम्बन्धी सात दिने तालिम दिन लागेको हो ।

थकनी गाविसका ५ महिला सहित २८ जना डकर्मीलाई ७ दिने तालिम दिइसकिएको केयर नेपालका आवास संयोजक अष्ट कार्कीले बताए । उनले भने, ‘दुई वर्षका लागि सबल समुदाय सुरक्षित आवास : स्वनिर्माणको प्रवद्र्धन परियोजना लागू भएको छ । यसको मुख्य उद्धेश्य सुरक्षित घर निर्माणको विधि अपनाई नयाँ निर्माण तथा पुननिर्माणका घरहरुको संख्या बृद्धि गर्ने र बृहत समुदायलाई विपद जोखिम न्यूनिकरणमा सहयोग गर्नु हो ।’

बरुवा, भोताङ, लाँगर्चे र थकनी गाविसमा ८४ जनाका दरले, बाँसखर्कमा ६४दुवाचौर गाविसमा एक सय १० जनालाई डकर्मी तालिम दिन लागिएको छ । परियोजनाले तालिमप्राप्त महिला डकर्मी उत्पादन, परिचालन तथा समान कामको समान ज्याला प्रादन गर्नका लागि समेत आवश्यक कामहरु गरिरहेको बताइएको छ ।

कार्यक्रमअवधिभरमा जिल्लाका ६ गाविसमा भूकम्प प्रतिरोधी नमुना घर (सामुदायिक भवन) र ५ गाविसमा पुनःनिर्माण स्रोत केन्द्र स्थापना गरिने सिएसआरसी मेलम्चीका कार्यक्रम संयोजक विनोद शर्माले बताए । ‘स्रोत केन्द्रमार्फत समुदायलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधि, सरकारी नीति तथा नियम, आबास, भूमि तथा सम्पत्तीको अधिकार, सरसफाई, उर्जाको बचत, अपाङ्गता भएकाहरुका लागि पहुँच र लैङ्गिकता सम्बन्धी जनचेतना प्रदान गर्नेछौं ।’ शर्माले भने, ‘सुरक्षित घर निर्माण सम्बन्धी सूचना प्रदान गर्न, प्राविधिक सहयोग प्रदान गर्न र सुरक्षित निर्माण सम्बन्धी प्रविधिमा सल्लाह प्रदान गर्न हरेक गाविसमा घुम्ती टोली समेत परिचालन गर्ने कार्यक्रम छ ।’

training to built home in sindhupalchowk1नमुना भवन निर्माण गर्नका लागि जग्गा व्यवस्थापनको काम भैरहेको र जग्गा उपलब्ध हुने बित्तिकै भवन निर्माणको प्रक्रिया अघि बढ्ने संयोजक शर्माको भनाई छ । ‘गाविसको नाममा दर्ता भएको वा सार्वजनिक जग्गाउपलब्ध गराउन गाविससँग समन्वय भईरहेको छ ।’ उनले भने, ‘स्रोत केन्द्र र नमुना भवनका लागि १२ आनासम्म जग्गा आवश्यक पर्ने देखिन्छ । गाविसले उक्त जग्गाको भोगचलनको अधिकार परियोजनालाई दिएपछि निर्माण कार्य अघि बढ्छ र परियोजना सकिएपछि उक्त संरचना गाविसलाई नैं हस्तान्तरण गरिन्छ ।’

‘सबल समुदाय सुरक्षित आवास : स्वनिर्माणको प्रवद्र्धन’ भन्ने नाराका साथ सुरु भएको परियोजनाको कार्यक्रम तथा बजेटका बारेमा गाविसस्तरीय सरोकारवाला निकायलाई जानकारी गराई स्वीकृति लिइसकेको केयर नेपाल मेलम्चीले जनाएको छ । हरेक गाविसमा विपद व्यवस्थापन समिति गठन गर्नुका साथै विपद जोखिम न्यूनिकरण योजना समेत निर्माण गर्ने लक्ष्य रहेको संयोजक अष्ट कार्कीले प्रष्ट पारे ।

उनले भने, ‘जिल्लास्तरमा जिल्ला दैवी प्रकोप उद्धार समिति भएजस्तै गाविसस्तरमा पनि विपद व्यवस्थापन समिति गठन गर्ने, क्षमता विकास गर्ने र विपद जोखिम न्यूनिकरण योजना बनाएर जिल्ला दैवी प्रकोप उद्धार समितिबाट अनुमोदन गराउने कार्यक्रम छ । पहिलो छ महिनामा तीन गाविसमा विपद व्यबस्थापन समिति गठन गरेर विपद जोखिम न्यूनिकरण योजना बनाउन ५ दिनको तालिम सञ्चालन गर्ने तयारी छ ।’

परियोजना लागू भएका गाउँ विकास समितिमा नेपाल सरकारबाट उपलब्ध गराउने २ लाख रुपैंयाँ अनुदान वितरण र सम्झौता गर्ने कार्यको सहजिकरण तथा सहयोग गर्ने तयारी भैरहेको परियोजना व्यबस्थापक उमेश श्रेष्ठले बताए । ‘एडिएच जर्मनको आर्थिक सहयोगमा २ वर्षसम्म सञ्चालन हुने यस परियोजनामा ४ करोड ७७ लाख रुपैंयाँ खर्च हुने अनुमान छ ।’ उनले भने, ‘पहिलो ६ महिनाको अवधिमा घर निर्माणको काम सुरु गरेका वा तत्काल सुरु गर्ने २ हजार ४ सय ३० घरधनीलाई भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी एक दिने तालिम दिने योजना छ ।’

गाविसका हरेक वडामा समुदाय स्तरीय भूकम्प सुरक्षित भवन निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिने सिएसआरसी मेलम्चीका कार्यक्रम संयोजक विनोद शर्माले बताए । उनले भने, ‘सुरक्षित भवन निर्माणका विषयमा रुची राख्नेहरु सबैलाई समेट्ने गरी वडा स्तरमैं एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन हुन्छ । यसबाट ६ वटै गाविसका झण्डै ३ हजार एक सय जना लाभान्वित हुनेछन् ।’


  •  
  •  
  •