एमाओवादी प्रवक्ता दीनानाथ शर्मालाई कारबाही !

100
  •  
  •  
  •  

काठमाडौं २१ चैत ।

एमाओवादीको जिल्ला कमिटीले पार्टी प्रवक्ता दीनानाथ शर्मालाई कारबाही गर्न सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर १ मा संविधानसभाको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी पाएर अन्तिम समयमा छाडेकाले कारबाही सिफारिस गर्नुपरेको जिल्ला इन्चार्ज लीलाबहादुर थापाले बताए । केन्द्रले सर्वसम्मत रूपमा पारित गरेको उम्मेदवारीलाई जिल्लाले पनि स्वागत गर्दागर्दै शर्माले अन्तिम समयमा फिर्ता लिएको थापाले बताए ।

उम्मेदवारी दर्ता गर्ने अघिल्लो साँझ चैत १ गते शर्माले नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । ‘हतारमा उम्मेदवार नबन्ने निर्णयले रातारात बसेर नयाँ उम्मेदवारी छान्न हामी बाध्य भयौं,’ थापाले भने, ‘शर्माको उक्त निर्णय पार्टीको छवि बिगार्ने खालको भएको जिल्ला कमिटीले ठहर गरेको छ ।’ पार्टीको सर्वसम्मत निर्णयलाई निर्वाचन हार्ने बहानामा शर्माले त्यागेको थापाले आरोप लगाए । ‘निर्वाचन हार्ने, जित्ने राजनीतिक र प्राविधिक कुरा हो तर प्रवक्ताज्यूले सिंगो पार्टीको प्रतिष्ठालाई त्याग्नुभयो,’ उनले भने, ‘पार्टी, राजनीति र आम जनतालाई नै उपेक्षा गरेको देखेपछि कारबाहीको सिफारिस गरेका छौं ।’ जिल्ला कमिटीले एकमतले कारबाहीको निर्णय गरेको उनले बताए ।

प्रवक्ता शर्माले भने जिल्ला कमिटीका पदाधिकारीले हावादारी गफ गरेको आरोप लगाए । ‘पार्टी अध्यक्षले सोधेकाले मैले स्वीकार गरेको थिएँ, जाँदाजाँदै बिरामी परेर फिर्ता लिएको हुँ,’ शर्माले भने, ‘जिल्लाले सिफारिस गरेको थिएन, मलाई कारबाही गर्ने हैसियत पनि राख्दैन ।’ मुटुको औषधि खाइरहेकाले चिकित्सकले एक महिना आराम गर्न सल्लाह दिएको उनले बताए । ‘कसैले रक्सी खाएर भनेको होला,’ शर्माले भने, ‘मलाई पार्टी अध्यक्षले पनि अस्वस्थ भए विकल्प खोज्न भन्नुभएको थियो, अहिले टीकाटिप्पणी किन आयो थाहा भएन ।’ पार्टीले जिल्ला प्रचार विभाग प्रमुख कृष्ण केसीलाई उम्मेदवार बनाएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •