प्रधानमन्त्रीको प्रतिवद्धता आए वार्ता : एमाओवादी

117
  •  
  •  
  •  

काठमाडौं, २४ माघ (ओएनएस) : संविधानसभा छाड्ने सम्मको धम्कीसहित सशक्त सडक संघर्षको घोषणा गरेको एकीकृत नेकपा माओवादी वार्तामा बस्न तयार देखिएको छ । प्रश्नावली प्रस्ताव समिति खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको एमाओवादीले सहमतिमैं संविधान बनाउने प्रधानमन्त्री सुशील कोइरालाको प्रतिवद्धताको माग गरेको हो ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता दीनानाथ शर्माले सहमति अनुसार संविधान बनाउने प्रतिवद्धता आएमा आफूहरु वार्तामा बस्न तयार भएको बताए । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको लागि विपक्षी दलका नेताहरूसँग पहल थालिरहेका बेला एमाओवादीे पनि वार्तामा आउन तयार देखिएको हो ।

उनले भने, “हामी सहमतिबाटै नया संविधान जारी हुनुपर्छ भन्ने अडानमा छौं । त्यसका लागि प्रधानमन्त्री कोइरालाको प्रतिवद्धता आएमा ३० दलको वैठक बसेर निर्णय लिन्छौं । र तत्काल वार्तामा बसेर सहमति जुटाउने प्रयत्न हामी गर्छौं ।”

बहुपहिचानका आधारमा प्रदेश बनाउन त्तिारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले सहमत भए संविधानका सबै अन्तर्वस्तुमा सहमति हुने प्रवक्ता शर्माको भनाइ छ । दुई तिहाइ वहुमतको आडमा सत्तारुढ दलहरु प्रक्रियाबाटै अघि बढ्न खोजे गठबन्धनले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने एमाओवादीले जनाएको छ ।


  •  
  •  
  •