निर्मला हत्या प्रकरण : पूर्वएसपी विष्टद्वारा अदालत समक्ष आत्मसमर्पण

306
  •  
  •  
  •  

धनगढी, ५ चैत(ओएनएस) : निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टले अदालत समक्ष आत्मसमर्पण गरेका छन् ।

डिल्लीराज विष्ट

निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि बिष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।

लामो समयदेखि सम्पर्क बिहीन रहेका बिष्ट मंगलबार करिब ११ बजेतिर अदालतमा उपस्थित भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।  उनका अनुसार बिष्टको बयान लिने तयारी भएको छ ।

यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो ।

निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।


  •  
  •  
  •