काठमाडौं, २४ माघ (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षाको रुपमा हेरिएको दिल्ली विधानसभाको चुनावमा मतदान प्रक्रिया सकिएको छ । भारतीय समय अनुसार विहान ८ बजेबाट शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो ।
मतदान आज सकिए पनि मंगलवार मतगणना सुरु भई परिणाम त्यही दिन आउने बताइएको छ। जम्मा ७० सीट रहेको विधानसभामा सरकार बनाउन ३६ सीट जित्नु पर्नेछ।
एक करोड ३३ लाख मतदाताका निम्ति १२ हजार मतदान केन्द्र राखिएको बीबीसीले लेखेको छ। सुरक्षाका निम्ति ५५ हजार प्रहरी र अर्ध सैनिक दस्ता खटाइएको छ।
शनिबार साँझसम्ममा ६५ देखि ७० प्रतिशत मतदाताले आफ्नो मत जाहेर गरेको अनुमान गरिएको छ । चुनावमा भाग लिएका ६ सय ७३ उम्मेदवारको भाग्यको फैसला मँगलबार हुने बीबीसीले उल्लेख गरेको छ ।
‘अरविन्दको अग्रता’
प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) ले पूर्वउच्च प्रहरी अधिकृत किरण बेदीलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ। केही महिना अघिसम्म मानिसहरु दिल्लीमा भाजपाले सजिलै चुनाव जित्ने अनुमान गर्थे, तर स्थिति फेरिएको देखिएको छ।
सर्वेक्षणहरुले उनी भ्रष्टाचार विरोधी अभियानकर्ता र आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालसँग पराजीत हुने सम्भावना देखाएका छन्।
होंचो कदका केजरीवाल आम राजनीतिकर्मीभन्दा निकै फरक, साधारण पहिरनमा रहने सामान्य मानिस जस्ता देखिन्छन्। चुनाव प्रचारका क्रममा केजरीवालले सर्वसाधारणको मुख्य चासोको विषय नै उठाएका छन्।
‘मोदी हतियार’
उक्त पार्टीद्वारा मुख्यमन्त्रीको रुपमा अघि सारिएकी किरण बेदी चर्चित पूर्व उच्च प्रहरी अधिकृत हुन्। उनले मतदातालाई सम्बोधन गर्दै भनेकी थिइन, “हामी चाहन्छौं तपाईहरु धेरै पैसा कमाउनुस्, धेरै नै। बचत बढोस र तपाईहरु धनी बन्नुस्।”
तर भाजपाको जीतको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी नै हतियार हुन्। आठ महिनाअघि भएको आम चुनावमा आर्थिक समुन्नतीको वाचाका साथ मोदीको नेतृत्वमा भाजपाले ठूलो जीत हात परेको थियो।
त्यसैले कतिपयले यो चुनावलाई शक्तिशाली मोदी र सामान्य लाग्ने केजरीवालबीचको भिडन्तको रुपमा हेरेका छन्।