दिल्लीमा भएको घातक हिंसामा २१ को मृत्यु

45
  •  
  •  
  •  

एजेन्सी । भारतको राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म २१ जनाको मृत्यु भएको छ ।

सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबार पहिलोपल्ट भिडन्त भएको थियो ।

तस्वीर : रोयटर्स

तर त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको जस्तो देखिएको छ, मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन् ।
जथाभावी आगजनी, काठ र फलामको लौरो अनि ढुंगा बोकेका मानिसहरूको समूह सडकहरूमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका भन्ने विवरणहरू आएका छन् ।

मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन्।

१८९ जनाजति घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन् ।

विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै, हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पु¥याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ ।

गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमलाई उद्धृत गर्दै एएनआइ समाचार एजेन्सीले जनाएअनुसार अस्पतालमा उपचारकालागि ल्याइएकाहरू मध्ये केहीलाई गोली लागेको छ भने केहीको टाउकोमा चोट लागेको छ । केहीको शरिरमा चक्कुको घाउ छर केहीलाई हिंसाबाट भाग्ने क्रममा लडेर चोट लागेको हुनसक्ने बताइएको छ ।

तीन दिनदेखि राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा जारी रहेको अवस्थामा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएरात जफ्रावाद ,सीलमपुर लगायत केही हिंसाग्रस्त इलाकाको भ्रमण गरेका र स्थानीय समुदायका नेताहरूसँग कुराकानी गरेका पनि एएनआइले जनाएको छ।

त्यहाँको जानकारी उनले प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिमण्डललाई गराउने बताइएको छ ।


  •  
  •  
  •