नक्कली डीआईजी बनेर ठगी

211
  •  
  •  
  •  

काठमाडौं १९ माघ ।
– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दुई दिनअघि एक व्यक्तिले आमाबुवालाई कसैले अपहरण गरेको भन्दै उजुरी दिए । अपहरणसम्बन्धी अनुसन्धान गर्ने अधिकारीले उनका केही कुरा सुने । अनि ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजीपी) हेमन्त मल्लको कार्यकक्षमा लगे । मल्ललाई पनि ती व्यक्तिले आफ्नो कुरा सुनाए । तर प्रहरी अधिकृतसँग बाहिर निस्किएपछि उनले आश्चर्यजनक प्रश्न ती प्रहरी अधिकृतलाई सोधे ‘के उहाँ नै हो त ब्युरो प्रमुख ?’ ती अधिकारीले हो भनेपछि उनले दरबारमार्गमा सीआईबीको डीआईजी बताउनेलाई आफूले मुद्दा मिलाउन दुई लाख रुपैयाँ दिएको जानकारी दिए । उनले दरबारमार्गमा आफूले भेटेको डीआईजी र अहिले भेटेको व्यक्ति फरक परेको बताए । प्रहरी अचम्ममा परे ।

खासमा के भएछ के भने, दुई युवाले ‘सीआईबी प्रमुखलगायत अन्यलाई चिनेको छु’ भनेर चितवनका कृष्ण गौतमको मुद्दा मिलाइदिने भन्दै २ लाख ९० हजार रुपैयाँ झ्वाम पारेका रहेछन् । बेलायत बस्दै आएका चितवनका गौतम तीन महिनाअघि बिहे गर्न नेपाल आएका हुन् । भक्तपुर लोकन्थली बस्ने उनको बिहेको एक महिना नपुग्दै सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेदपछि पत्नीले गौतमविरुद्ध कुटपिट र मानसिक यातना दिएको भन्दै महानगरीय प्रहरी वृत्त ठिमीमा मुद्दा दर्ता गरिन् ।

प्रहरीले गौतमलाई थुन्यो । त्यही बेला उनका ससुराली पक्षले गौतमका बुवा-आमालाई चितवन लिएर गए । जग्गा आफ्नो नाममा नगरे छोरालाई छुट्न नदिने भन्दै चितवनको दुई कट्ठा १० धुर आफ्नो नाममा गराए । गौतमले त्यो कुरा प्रहरी हिरासतमा हुँदा नै थाहा पाए । तर, केही गर्न सकेनन् । त्यही बेला थुनामा रहेका रवि तामाङसँग उनको चिनजान भयो । तामाङले गौतमलाई आफूले नेपाल प्रहरीका एक पूर्वडीआईजी चिनेको भन्दै मुद्दा मिलाइदिने आश्वासन दिए । बाहिर निस्किएपछि सिन्धुपाल्चोक बाह्रबिसेका सोनाम लामालाई भेटाइदिए । लामाले आफू पूर्व डीआईजी भएको भन्दै उनको मुद्दाको सबै कुरा सुने ।

यस्ता अपराधको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएकाले मुद्दा मिलाउन झन् सजिलो हुने आश्वासन दिएका थिए । उनले नामसारी भएको जग्गा आफ्नै नाममा, प्रहरी हिरासतमा बस्दाको क्षतिपूर्तिलगायत सबै व्यवस्था हुने आश्वासन पनि दिएका थिए । उनले त्यही दिन राष्ट्रपति कार्यालय नजिकको एउटा रेस्टुरेन्टमा गौतमसहितका उनका आमाबुवालाई लिएर गएका थिए । खासमा ब्युरोका डीअाईजीलाई भेटाउन लगेका लामाले आफूमात्र जान मिल्ने भन्दै रेस्टुरेन्टमा छाडेरभित्र छिरेका थिए । भित्र प्रहरीलाई दिनुपर्ने भन्दै ९० हजार रुपैयाँ पनि साथै लगेका थिए । उनले सीआईबीको गेटमा गएर कुनै एक प्रहरी अधिकारीलाई केही क्षण भेटेको ब्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) पीताम्बर अधिकारीले बताए । अधिकारीले भने, ‘सामान्य चिनजानको मान्छेसँग भेटे पनि ती अधिकृतसँग यो विषयमा उसले कुरै गरेन ।’

झन्डै आधा घन्टा ब्युरोमा बिताएर निस्किएका लामाले साँझ डीआईजीले गौतमलाई दरबारमार्गमा भेट्न खोजेको बताएका थिए । तर साँझको भेटमा दुई लाख रुपैयाँ ल्याउनुपर्ने भनेका थिए । पूरै काम सक्किएपछि २० लाख रुपैयाँ दिने सहमति भएको थियो । सहमतिअनुसार साँझ गौतम २ लाख रुपैयाँ लिएर दरबारमार्ग पुगे । सडकमा उभिएका गौतमको अघि एउटा निजी गाडी आएर रोकियो । गाडी चलाउने चाहिँ सोनाम लामा थिए । पछाडि एक व्यक्ति बसेका थिए । लामाले ती व्यक्ति सीआईबीको प्रमुख डीआईजी भएको बताए । गौतमलाई नमस्कार गर्न लगाए । अनि ती डीआईजीको हातमा २ लाख रुपैयाँ थमाए । खासमा ती व्यक्ति नक्कली डीआईजी रहेछन् ।

रकम दिएको चार दिन बित्दासमेत आफ्नो मुद्दामा केही प्रगति नभएपछि गौतम केन्द्रीय अनुसन्धान ब्युरो पुगे । उनले आमाबुवालाई जबर्जस्ती जग्गा नामसारी गर्न लगाएकोविरुद्ध मुद्दा दर्ता भएको उल्लेख गर्दै त्यसको प्रगतिबारे सोधे । तर ब्युरोमा कुनै मुद्दा दर्ता नै थिएन ।

प्रहरीले नक्कली प्रहरी अधिकृत खडा गरेको, प्रहरीको नाममा ठगी गरेको अभियोगमा लामा र उनका सहयोगी रवि तामाङलाई पक्राउ गरेको छ । ब्युरो प्रवक्ता अधिकारीका अनुसार यिनीहरूले गौतमबाहेक अन्य धेरै व्यक्तिलाई ठगी गरेको खुलेको छ । यिनले चढ्ने गाडीबाट प्रहरीले मिलापत्रका कागज, जाहेरी दरखास्तलगायत अन्य कागज फेला पार्‍यो । प्रहरीले उनीहरूबाट अरू कोही ठगिएको भए उजुरी दिन अनुरोध गरेको छ । उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता भएको छ ।

मुद्दा मिलाउन एडभान्स दुई लाख लिएका थिए । मुद्दा मिलेपछि २० लाख रुपैयाँ दिने सहमति भएको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •