पूर्वयुवराज पारसलाई पक्रेर पोखराबाट चितवन पुर्‍याउँदा : केशव अघिकारी डिअाइजी

220
  •  
  •  
  •  

त्यतिवेला म अञ्चल प्रहरी कार्यालय गण्डकीको प्रमुख थिएँ । २५ मंसिर ०६७ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स रिसोर्टमा बंगलादेशी नागरिक रुबेल चौधरी परिवारसहित बिदा मनाउन गएका रहेछन् । ठीक त्यही दिन पूर्वयुवराज पारस शाह पनि आफ्नो परिवारका साथ बिदा मनाउन टाइगर टप्स रिसोर्ट पुग्नुभएको थियो । दुई परिवारहरू बसिरहेकै वेला केही विषयलाई लिएर मनमुटाव भएछ । हामीलाई जानकारी आएसम्म पूर्वयुवराज पारसले बाहिर आएर हवाईफायर गर्नुभएछ । पीडित पक्षबाट केही सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भयो ।
जिल्ला प्रहरी कार्यालय चितवनको चलानी नम्बर १८६४ को पत्रबाट ०६७ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएको चिठी कास्की प्रहरीलाई आयो । पारसलाई पक्राउ गरेर चितवन प्रहरीको जिम्मा लगाउन पत्रमा भनिएको थियो । त्यहीअनुसार सबैभन्दा पहिला जिल्ला प्रहरी कार्यालय कास्कीका तत्कालीन प्रमुख एसपी पुस्कर कार्की होटल फूलबारीमा जानुभयो । पूर्वयुवराज पारस होटल फूलबारीको कोठा नम्बर ३१२२ मा बस्नुभएको थियो । त्यसबाहेक उहाँले अन्य चारवटा कोठा पनि बुक गर्नुभएको रहेछ ।
एसपी कार्की पक्राउ गर्न जाँदा पारसले अस्वीकार गर्नुभएछ । तत्कालीन क्षेत्रीय प्रहरी प्रमुख रहनुभएका डिआइजी कुबेरसिंह रानाले मलाई जाने आदेश गर्नुभयो । त्यसपछि म गएँ । म जाँदाजाँदै त्यसवेलाका आइजिपी रमेशचन्द ठकुरीले पनि फोन गर्नुभयो । उहाँले ‘ल तिम्रो जिम्मेवारी भयो, उहाँ (पारस)लाई सकुशल चितवन पुर्‍याउनू’ भन्नुभयो ।
पारस शाहले मसँग त्यति नेगेटिभ कुरा गर्नुभएन । होटलमा गएपछि उहाँहरूले केही समय कुर्न आग्रह गर्नुभयो । उहाँका सहयोगीहरू प्रभुवन सिंह र अनिल बस्नेत भन्ने दुईजना थिए । उनीहरू दुवैजनामार्फत नै सन्देश आदान–प्रदान भयो । पारस होटलको कोठाभित्रै हुनुहुन्थ्यो ।

थरीथरीका बहाना

म करिब १२ बजे होटलमा पुगेको थिएँ । पारसलाई लिनका लागि करिब पाँच घन्टा कुुर्नुपर्‍यो । सुरुमा उहाँले नजाने ढंगले धेरै बहाना गर्नुभयो । हामीसँग जानका लागि आफ्नो स्वास्थ्य कमजोर रहेको बताउनुभयो । ‘चिकित्सक ल्याएपछि मात्र जान्छु’ भन्नुभयो । मैले ‘गण्डकी अञ्चल अस्पतालका क्षेत्रीय प्रमुखलाई नै सँगै लिएर जान्छौँ, स्वास्थ्यको रेखदेख गर्नुहुन्छ’ भने । उहाँले फेरि ‘वकिल झिकाइदिन’ आग्रह गर्नुभयो । ‘वकिलको पोखरामा कामै छैन, चितवनमै बोलाउनुस्’ भनेर मैले उहाँ (पारस)लाई सम्झाएँ । त्यसपछि ‘स्वास्थ्यकर्मी काठमाडौंबाटै झिकाइदिनुपर्‍यो’ भन्नुभयो । त्यसवेलासम्म मिडियामा हंगामा भइसकेको थियो ।
नेपाली मिडिया मात्र होइन, बिबिसी, सिएनएन, आजतक तथा टोकियो टेलिभिजनलगायतले मलाई फोन गर्न थालिसकेका थिए । सबैको प्रश्न एउटै हुन्थ्यो, ‘तपाईंले उहाँलाई त्यहाँ (पोखरा)बाट पक्राउ गरेर चितवन लैजान सक्नुहुन्छ ?’ म जवाफ दिन्थेँ, ‘म एउटा व्यावसायिक प्रहरी अधिकृत हो, आदेशअनुसार म जसरी पनि काम गर्छु ।’
पारसले विभिन्न बहाना गरिरहनुभएको थियो । करिब तीन घन्टा बितिसकेको थियो । म बोलेरो गाडी लिएर गएको थिएँ । त्यही गाडीमा उहाँलाई चितवन लैजाने हाम्रो योजना थियो । ‘जानैपर्छ, बाटो लामो छ, बरु छिट्टै जाऊँ’ भनेर आग्रह गरेँ । कहिले वकिल त कहिले डाक्टर चाहियो भनेर उहाँले विभिन्न माग राखिरहनुभएको थियो । धेरै आग्रह गरेपछि उहाँले ‘आफ्नो स्वास्थ्य ठीक नभएकाले गाडीमा जान नसक्ने, हेलिकोप्टरमा लैजानुपर्ने’ प्रस्ताव गर्नुभयो । मैले भनेँ, ‘फौजदारी अभियोग लागेको व्यक्तिलाई सरकारी सुविधामा हेलिकोप्टर उपलब्ध हँुदैन ।’ त्यसपछि उहाँले ‘म आफ्नै खर्चमा जान्छु’ भन्नुभयो । मैले माथिल्लो निकायहरूमा जानकारी गराएँ । पछि हेलिकोप्टरको सुविधा दिने निर्णय भयो ।
फिस्टेल एयरको ९१ एआइडब्लू नामक हेलिकोप्टर लिएर क्याप्टेन आशिष शेरचन पोखरा आउनुभयो । हेलिकोप्टर आइसकेपछि पनि पारस शाह होटलबाट निस्कनुभएन । मैले ‘छिटो गर्नुपर्‍यो, नत्र कोठाभित्रै गएर पक्राउ गर्नुपर्ने हुन्छ’ भनेर जोड दिन थालेँ । पछि ‘भोकाएको छु, स्यान्डविच खान्छु’ भन्नुभयो । ‘हुन्छ’ भनेर स्वान्डविच मगाएर खान दियौँ । पछि ‘थोरै भुजा खान्छु’ भन्नुभयो । भुजा पनि आयो । तर, मगाएका ती परिकार खानुभयो वा खानुभएन मलाई थाहा भएन ।
त्यति मात्रै कहाँ हो र ? भुजा आएको केही बेरपछि ‘सावर’ लिन टाइम माग्नुभयो । त्यसबीचमा उहाँले पाँच–सातपटक सावर लिएको पनि थाहा भयो । चुरोट पनि तानिरहनुभएको थियो । उहाँ (पारस) एकदमै हतास मनस्थितिमा हुनुहुन्थ्यो । नेपालमा दुई सय ३७ वर्ष राज गरेको राजसंस्थाको कुनै पनि परिवारका सदस्यले सायद त्यस्तो अवस्थाको साक्षात्कार गरेका थिएनन् । गिरफ्तार भएर जान अप्ठ्यारो लाग्यो होला । मलाई पनि के लागिरहेको थियो भने म नेपाल प्रहरीको पहिलो अधिकृत रहेछु, जसले दुई सय ३७ वर्षको शाहवंशीय इतिहासमा पहिलोपटक पूर्वयुवराजलाई पक्राउ गर्‍यो । त्यसकारण मलाई डर र खुसी दुवै थियो ।
त्यसो त म पहिला उहाँकै सुरक्षामा पनि खटिएको थिएँ । मैले उहाँको सुरक्षामा पाँचौँ घेरामा रहेर काम गरेको थिएँ । पहिलो घेरमा उहाँको बडिगार्ड हुन्थ्यो । त्यसपछि सैनिक प्रहरी हुन्थ्यो, त्यस्तै, सेनाको अर्काे टोली पनि हुन्थ्यो । त्यसकारण एक्कासि आएको निर्देशनअनुसार पारसलाई गिरफ्तार गर्न जाँदा म विभिन्न कुराको आँकलन गरेर पोखरा पुगेको थिएँ । तर, उहाँ कोठाबाट छिटो निस्कन मान्नु नै भएन । कहिले ‘तपाईंलाई प्रधानमन्त्रीको फोन आउँछ’ भन्नुहुन्थ्यो, कहिले ‘गृहमन्त्रीले फोन गर्छन्’ भन्नुहुन्थ्यो ।
गाडीमा जान नमानेकाले हेलिकोप्टर मगाइएको थियो । हेलिकोप्टर आएको एक घन्टासम्म पनि पारस जान तयार हुनुभएन । पछि मैले क्याप्टेन आशिष शेरचनलाई सोधेँ, ‘कति मिनेटभित्र उडाइएन भने चितवन पुग्न सकिन्न’ भनेर । उहाँले ‘१५ मिनेटभित्र टेक अप भएन भने चितवनमा ल्यान्ड गर्न नसकिने’ बताउनुभयो । त्यसपछि मैले ‘१० मिनेटभित्र ननिस्किए म आफैँ कोठाभित्रै गएर पक्राउ गर्न बाध्य हुने’ खबर पठाएँ ।
मैले त्यसो भनेको दुई मिनेटपछि पारसले थप दुईवटा माग राख्नुभयो । पहिलो उहाँले ‘होटलको लबीमा भएका सबै प्रहरी हटाइदिन’ आग्रह गर्नुभयो । र, अर्काे ‘हत्कडी नलगाउन’ आग्रह गर्नुभयो । उहाँले प्रहरीलाई ‘सहयोग गर्ने’ बताएपछि हामी पनि लचिलो भयौँ । भाग्ने सम्भावना नभएकाले पनि मैले उहाँको आग्रहलाई मानेको थिएँ ।
हेलिकोप्टरमै चुरोट खाए पारसले

पारसको स्वभावबारे विभिन्न कुरा सुनिन्थ्यो । त्यसकारण ‘शरीरमा केही सामान छ कि’ भनेर सोधेँ । सहयोगीहरूले केही नभएको भन्दै आश्वस्त बनाए ।
हेलिकोप्टरमा पाइलटको छेउको अगाडिको सिटमा उहाँ बस्नुभएको थियो । उहाँको ठ्याक्कै पछाडि म बसेको थिएँ । मेरो छेउमा इन्स्पेक्टर सुनील मल्ल थिए । हामीसँगै पारसका सहयोगी, चालक अनिल अधिकारी र सहयोगी सुनील कटवाल पनि हुनुहुन्थ्यो ।
पौने पाँच बजे पारस शाहलाई लिएर हेलिकोप्टर उड्यो । इन्धनका लागि पोखरा एयरपोर्टमा केही समय रोकियौँ र ५ बजेर ८ मिनेटमा चितवन पुग्यौँ ।
पोखरादेखि चितवनसम्मको २२ मिनेट उडानको समय पनि निकै रोचक छ । पारस शाहले खल्तीमा हात हाल्नुहुन्थ्यो । वेलावेलामा दुवै हात खल्तीमा हाल्नुहुन्थ्यो । मेरा आँखाचाहिँ अधिकांश समय उहाँको खल्तीमै केन्द्रित थिए । ‘किन खल्तीमा हात हाल्नुभयो ?, के चाहियो उहाँलाई ?, खल्तीमा हतियार पो छ कि ?’ भन्ने आशंकाले एउटा सुरक्षाकर्मीको हैसियतले मेरो ध्यान त्यसमा केन्द्रित भएको थियो ।
हेलिकोप्टरबाट तलका निकै रमाइला दृश्य देखिन्थे । तर, त्यो मैले हेर्न सकिनँ । मेरो ध्यान पूरै उहाँको खल्तीमा मात्रै हुन्थ्यो । करिब १०–१२ मिनेटपछि पारसले दुवै खल्तीबाट हात झिक्नुभयो । एउटाबाट लाइटर र अर्काेबाट सिगरेट निकाल्नुभयो । प्लेन र हेलिकोप्टरमा प्रज्वलनशील पदार्थ बोक्नै पाइँदैन । तर, उहाँले सिगरेट सल्काएर खानुभयो । क्याप्टेन आशिषले केही बोल्न सक्ने अवस्थै थिएन ।
सुरक्षाका कारण एयरपोर्टमा ल्यान्ड गरेनौँ

करिब पाँच बजे नै हामी चितवनमा पुगेका थियौँ । तल एयरपोर्टमा हेरेको त ठूलो संख्यामा मान्छेहरू जम्मा भएका थिए । उहाँलाई हेर्न तथा स्वागत गर्न मान्छेहरू जम्मा भएका हुन सक्छन् । सुरक्षाको दृष्टिकोणले एयरपोर्टमा हेलिकोप्टर ल्यान्ड गर्न उचित ठानिनँ मैले ।
त्यसपछि भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा हेलिकोप्टर ल्यान्ड गरायौँ । र, पारसलाई सिडिओ तथा एसपीको जिम्मा लगायौँ । त्यसवेला चितवनको सिडिओ वसन्त गौतम हुनुहुन्थ्यो । एसपी पुष्पचन्द्र रञ्जित हुनुहुन्थ्यो । उहाँहरूलाई जिम्मा लगाएपछि म पोखरा फर्किएँ । हेलिकोप्टरमा चाहिँ पारसले एक शब्द पनि बोल्नुभएन ।
गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको चासो

त्यो घटनामा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले चासो राख्नुभएको थियो । गृहमन्त्री भीम रावल हुनुहुन्थ्यो । उहाँसँग फोनमा दुईपटक कुरा भएको थियो ।
जतिवेला हामी पारसलाई पक्राउ गर्न पोखरा गएका थियौँ, त्यतिवेलासम्म सैनिक प्रहरीले उहाँलाई सुरक्षा दिइरहेको थियो । सैनिक प्रहरीको घेरामा गएर पक्राउ गर्दा ठीक हुँदैनथ्यो । त्यसैले सुरुमा सरकारी तहबाटै सैनिक प्रहरीलाई हटाउन मैले कुरा गरेको थिएँ । त्यहीअनुसार सैनिक प्रहरी हटेको थियो । सुरक्षामा खटिएका एक मेजरसा’बले ‘हामी गयौँ, नियमअनुसार जे गर्नुछ, गर्नाेस्’ भनेपछि मात्र म होटलभित्र छिरेको थिएँ ।
होटलको म्यानेजर प्रदीप राणा र फुड एन्ड बेभरेज म्यानेजर अरुण पुरी हुनुहुन्थ्यो । पारस शाहसँग उहाँहरूको पुरानो चिनजान थियो । पारसलाई सहयोग गर्दा उहाँहरू खुसी हुनुहुन्थ्यो । त्यो दिन उहाँहरू भयभित हुनुभयो । केही सूचना माग्दा पनि दिनुभएन ।
विवादास्पद छवि

पूर्वयुवराज पारस शाह सधैँ विवादमा रहे । शाहज्यादा हुँदै युवराज बनुन्जेलसम्म उनका विवादित गतिविधि पनि बढिरहे । उनले चलाएको गाडीको ठक्करबाट १५ वर्षअघि गायक प्रवीण गुरुङको मृत्यु भयो ।
यो घटनाबाट पारसको सार्वजनिक रूपमा निकै आलोचना भयो । अनेरास्ववियुले त उनीविरुद्ध दश लाख जनताको हस्ताक्षर संकलन गरेर दरबारमै बुझायो । त्यसवेला दरबार शक्तिशाली भएकाले घटनाको निष्पक्ष अनुसन्धान नै हुन सकेन ।
पारसले आफ्ना बुबा ज्ञानेन्द्रका साथी प्रभाकरशमशेरका छोरामाथि एभरेस्ट होटलको डिस्कोमा हातपात गरे । विवादका क्रममा पारसले पेस्तोल देखाएर नै प्रभाकरका छोरालाई धम्क्याएका थिए । उक्त घटनापछि ज्ञानेन्द्र र प्रभाकरकै सम्बन्धमा चिसोपन आएको थियो ।
चितवनको टाइगर टप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका छोरीज्वाइँ रुबेल चौधरीसितको झगडाले त पारसलाई ठूलो धक्का नै लगायो । २५ मंसिर ०६७ मा भएको उक्त विवादका क्रममा उनले हवाईफायर गरेका थिए । उक्त घटनामा प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक मुद्दा नै दायर गर्‍यो ।
पहिला सिंगापुर बसेका पारस टाइगर टप्स घटनापछि बैंकक गए । त्यहाँ पनि उनी विवादमुक्त हुन सकेनन् । गम्भीर किसिमको हृदयाघातबाट जोगिएका उनले त्यसपछि पनि ‘बिन्दास’ जीवनशैली कायमै राखे । लागुऔषध, मदिरा र धुम्रपानको लत उनले त्याग्न सकेनन् । थाई प्रेमिका कन्निकाका कारण पनि उनले दु:ख पाउँदै आएको थाइल्यान्डमा रहेका नेपाली बताउँछन् ।
नयाँपत्रिका दैनिकबाट


  •  
  •  
  •