ढल्यो कोइराला विरासत

189
  •  
  •  
  •  

काठमाडौँ, २६ माघ(ओएनएस) : नेपाली कांग्रेस मोरङको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय सभासद् डिगबहादुर लिम्बु विजयी भएका छन् । सोमबार राति सम्पन्न मतगणनामा लिम्बुले संस्थापन पक्षका गोपालमानसिंह राजभण्डारी र केदार कार्कीलाई पराजीत गरेका हुन् । लिम्बुले ५ सय ९२ मत ल्याएका छन् ।

कोइराला परिवारको दबदबा रहेको र कोइरालाको पैतृक थलो मानिने मोरङ जिल्लामा देउवा पक्षको विजयले कोइराला विरासतमै ठूलो धक्का पुगेको छ । मोरङको नतिजाले देशव्यापी रूपमा कोइराला पक्षलाई स्तब्ध तुल्याएको कांग्रेस निकटस्थ विश्लेषकहरूको भनाइ छ ।

मोरङमा लिम्बूका प्रतिद्वन्द्वी राजभण्डारीले ३ सय ३६ र कार्कीले १ सय ९५ मत ल्याए । कार्की केन्द्रीय सदस्य शेखर कोइरालाको आश्वासनमा उम्मेदवार बनेका थिए । सचिवमा नागेश कोइराला र कोषाध्यक्षमा गोपाल थापा विजयी भएका छन् ।

हिजै राति सम्पन्न भएको मतगणनामा तनहुँमा संस्थापन पक्षका बैकुण्ठ न्यौपाने सभापतिमा विजयी भएका छन् । न्यौपानेले ४ सय ४८ मत पाए भने उनका प्रतिद्वन्द्वी कृष्णप्रसाद गौतमले २ सय ५२ मत प्राप्त गरे । उपसभापति रामचन्द्र पौडेल निकट न्यौपानेसँगै सचिव र कोषाध्यक्षसहित प्यानल नै विजयी भएको हो । सचिवमा विश्व बास्तोला र कोषाध्यक्षमा रेशम गुरुङ विजयी भएका हुन् । गौतमको प्यानललाई पूर्व सहमहामन्त्री गोविन्दराज जोशी तथा केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई र प्रदीप पौडेलले समर्थन गरेका थिए ।


  •  
  •  
  •