श्रीमती हत्या कसुरमा जेल परेका सशस्त्रका पूर्व डीआईजी कोइराला रिहा

328
  •  
  •  
  •  

काठमाडौं । श्रीमती हत्याको आरोप लागेर जेल परेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी रञ्जन कोइराला रिहा भएका छन् । पूर्वडिआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका हुन् ।

८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेका कोइरालालाई डिल्लीबजार कारागार प्रशासनले आज जेलमुक्त गरेको हो ।

सर्वोच्च अदालतले १५ असारमा उनको सजाय घटाउने फैसला गरेको हो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी डिल्लीबजार पुगेकी थिइन् । कोइराला सबैलाई हात हल्लाउँदैं आफ्नी प्रेमिकाको गाडीमा चढेका थिए ।

सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो ।

तर, अब उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । जसका कारण उनी आज जेलमुक्त भएका छन् ।

पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।
कोइरालाले २०६८ माघमा श्रीमती गीताको हत्या गरेका थिए । उनी २०६८ माघ २८ गते पक्राउ परेका थिए ।


  •  
  •  
  •